
बीस दिनदेखि आन्दोलित शिक्षकहरूले घुसपैठ गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएका छन् ।
सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
शिक्षकहरूविरुद्ध नाराबाजी र अभिव्यक्ति दिँदै हिँडिरहेका ती पुरूषलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । उनले निजी विद्यालयमा पहुँच भएका शिक्षकहरूले सरकारी विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रिएको आरोप लगाएका थिए ।
त्यसपछि उनलाई केही शिक्षकहरूले धकेल्दै हातपात प्रयास पनि गरे । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
उनले आफूलाई ललितपुरस्थित गोदावरी नगरपालिकाको बासिन्दा भनेका छन् । आफू सरस्वती माध्यमिक विद्यालयमा पढ्ने छोरीको बाबु भएको बताएका छन् । उनले आफूलाई सरोज महतका रुपमा चिनाएका छन् ।
उनले विद्यार्थीहरूको अभिभावकका रुपमा चिनाउँदै शिक्षक आन्दोलनविरुद्ध बोलेका थिए । निजी विद्यालयलाई पोस्ने गरी शिक्षकहरू सडकमा आएको आरोप उनको थियो ।
प्रहरीलाई जिम्मा लगाउने क्रममा उनीमाथि शिक्षकहरूले हात हाल्दै धकेलेका थिए । ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिक्षकहरूको आन्दोलन अघि बढेको थियो ।