
मधेश र मधेशीको अधिकार हरण गरेको आरोप लाग्दै आएको बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकै केही नेताहरुको दास प्रवृत्तिको कारण मधेशीहरु पछाडि परेको बताएका छन् ।
‘मधेशका केही नेताहरू नै मधेश मुक्तिको बाधक रहेका छन्’ उनले भने, दास मानसिकताका नेताहरु मधेश र मधेशीको अधिकार खोस्नेका सहयोगी बनेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा रहेका मधेशी नेताहरुप्रति कटाक्ष गर्दै अध्यक्ष यादवले भने, मधेशी विरोधी गतिविधिमा लागेका मधेशीहरुकै कारण मधेश मुक्तिको आन्दोलनलाई धक्का लागेको छ ।
दोस्रो संविधान सभाबाट संविधान जारी भइरहेको बेला मधेशी दलका सांसदहरुले बहिष्कार गर्दा ठूला दलका मधेशी नेताहरुले विभेदकारी संविधानको पक्षमा रहेका थिए । ठूला दलका मधेशी सांसदहरुले संविधानमा संशोधनको पक्षमा उभिएको भए धेरै समस्या समाधान हुने अवस्था रहेको थियो । मधेशी दलका नेताहरुले विरोधमा संसद बहिष्कार गरेका बेला मधेशमा आन्दोलन उत्कर्षमा रहेको थियो ।
तर कांग्रेस, एमाले र माओवादी दलका मधेशी सांसदहरुले मधेशी, आदिवासी, जनजाती विरोधी संविधानलाई समर्थन गर्दै दिपावली गरेका थिए । पार्टीको सिराहा जिल्लाको गोलबजारमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले ठूला दलका मधेशी नेताहरुप्रति आक्रोश पोखेका छन् । मधेशलाई नश्लीय राज्यसत्ताले सधैंभरि आन्तरिक उपनिवेशमा राखेको भए पनि मधेशकै नेताहरूका कारण यसबाट मुक्ति मिल्न नसकेको उनले बताएका छन् ।
‘ मधेशमा आन्तरिक उपनिवेश छ,’ अध्यक्ष यादवले भने, तर, जसले मधेशलाई उत्पीडनमा राखेका छन्, यहाँका कतिपय नेता उनीहरूकै गुलामी गर्दैछन् । मधेश र मधेशीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र तहत नै भूमि अध्यादेश ल्याएको तर यसमा एमाले कांग्रेसमा भएका मधेशी नेताहरूले दास बनेर टुलुटुलु हेर्ने काम गरेको उनले आरोप लगाए । ‘कांग्रेस, एमालेमा भएका मधेशी नेताहरू पनि बोल्छन् भन्ने लागेको थियो,’ उनले भने, ‘तर, उनीहरू त्यहाँ दास बनेर बसेका छन् ।’
मधेशमा राज्यले ज्यादती गर्दै आएको र यहाँका सबै नेताहरू मिलेर त्यसविरुद्ध लड्नुपर्ने भएपनि ती नेताहरू आफ्नो व्यक्तिगत लाभ र स्वार्थका निम्ति एमाले कांग्रेसमा गुलामी गर्दै बसेको अध्यक्ष यादवले बताए । नेपाली कांग्रेस, एमाले र माओवादीमा उच्च पदमा पुगेका मधेशी नेताहरु केही समयमै पाखा लाग्ने गरेका छन् ।
कांग्रेसमा विमलेन्द्र निधि, विजय गच्छदार, माओवादीमा मातृकाप्रसाद यादव लगायतको पीडा उनीहरु स्वयंले महसुस गरिरहेका छन् । नेकपा एमाले, नेकपा एस, राप्रपा, रास्वपालगायतका दलहरुमा रहेका मधेशी नेताहरुको हाल पनि कांगे्रेस र माओवादीका नेताहरुको भन्दा फरक छैन । मधेशी दलहरुको कारण ठूला दलहरुमा आलोपालो मधेशी नेताहरुले अवसर पाएपनि त्यो टिकाउ भइरहेको छैन । जसपा नेपालले गत वर्ष नै राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि प्रदेश, जिल्ला, पालिका, वडाको अधिवेशन अहिले गरिरहेको छ ।
महाधिवेशन भएको ११ महिना बितिसक्दापनि निर्वाचन आयोगले जसपा नेपाललाई अध्यावधिक गरेको छैन । जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्चमा दिएको रिटको फैसला हाल सम्म भएको छैन । त्यसबाट पार्टीका नेता, कार्यकर्ताहरुमा नैराश्यता बढिरहेको बेला जसपा नेपालले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश निष्क्रिय बनाउन खेलेको भूमिकाले पार्टीमा नयाँ जोश देखिएको छ ।
जसपा नेपालको अडानको कारण सरकारले ल्याएको मधेश विरोधी भूमि सम्बन्धी अध्यादेश निष्क्रिय बनाउन बाध्य भएका थिए । उद्घाटन समारोहमा प्रथम उपाध्यक्ष राजकिशोर यादवले मुलुकमा लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रको नाममा गिरोहतन्त्र चलिरहेको बताए । जनताले लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए पनि केही दलहरू यसलाई कमजोर बनाउने काममा लागेको उनले आरोप लगाए ।
उपाध्यक्ष यादवले सरकारको कडा आलोचना गर्दै गणतन्त्रमाथि खाएको खतरा महसुस गर्ने दलहरु नै त्यसको कारक रहेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि देखिएको कारक नै ठूला दलहरुको ब्यवहार रहेको छ’ उनले भने, समयमै ती दलहरु नसच्चिए इतिहासको पानामा खुम्चिने निश्चित छ । सो कार्यक्रममा जसपा नेपालका पदाधिकारी, भातृ संगठनका नेताहरुले आ– आफ्नो धारणा व्यक्त गरेका थिए ।अधिवेशनले मंगलवार नयाँ नेतृत्वको चयन गर्ने बताइएको छ ।