२०८२ बैशाख ९, मंगलवार ०७:५४

सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पूर्ववडाध्यक्ष साहलाई सोमबार बिहान घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनले वर्तमान वडाध्यक्षको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा पक्राउ गरेको छ । सिरहा प्रहरीले जनाए अनुसार २०८० माघ १९ मा उनले वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी चारकिल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो ।

अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पूर्ववडाध्यक्ष साह २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को पछिल्लो निर्वाचनमा भने नवराजपुर गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट चुनाव लडेका उनी पराजित भएका थिए ।

Comment


Related News

Latest News

Trending News