
मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्यायमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले शपथ गराएलगत्तै हिजै उनी काउन्सिलमा पदभार सम्हालिसकेका छन् ।
केएस मल्टिपरपोज कम्पनीका अध्यक्षसमेत रहेका उपाध्यायले बाराको पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७-७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरेर रेकर्डमा राखेन् गरीमात्र एक प्रति प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको देखिएको आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कसुर गरेको उनीमाथि आरोप छ । उनीसहित नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाललाई पनि मुद्दा दायर गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन् ।