२०८२ बैशाख १०, बुधबार ०७:४२

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट बनेको छ । केही दिन अघि मात्रै सर्लाहीमा करिब अढाइ क्वीन्टल लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्ता घटना विवरण मधेश प्रदेशको विभिन्न जिल्लामा भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरीलाई २ सय ४४ किलो गाँजासहित नियन्त्रणमा प्रहरीले लिएको थियो । प्रहरीले भने मुख्य व्यक्ति नजिक पुग्ने प्रयास गरिरहेको दाबी गरिरहेको छ ।

त्यस्ता घटना सर्लाहीमा मात्रै होइन मधेश प्रदेशमा हरेक दिन दोहोरिरहँदा गाँजाको कारोबार बढको देखिन्छ । बुधबारको घटनामा सिन्धुलीको मरिनबाट सर्लाहीको लालबन्दी आउँदै गरेको बा२०च १७८२ नम्बरको पिकअप गाडी लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा चेकिङका क्रममा नियन्त्रणमा परेको थियो । अनि यही गाडीमा थिए, सुशील चौधरी ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार भुसको बोरामुनि लुकाई ल्याउँदै गरेको ४५ पोका गाँजासहित चौधरीलाई नियन्त्रणमा लिएको थियो । मधेश प्रदेशमा गाँजा ओसार पसारका घटना कति बढिरहेका छन् भनेर बुझ्न आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को तथ्यांकले देखाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार मधेश प्रदेशका ८ जिल्लामा ०८०/०८१ मा ८ हजार ५ सय ४० किलो ९५० ग्राम गाँजा बरामद गरेको थियो । ०८१/०८२ मा भने प्रहरीले अघिल्लो वर्षभन्दा झन्डै चार हजार किलो बढी अर्थात् १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्राम गाँजा बरामद गरेको छ । सर्लाही र सिन्धुलीको चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको सूचना प्रहरीसँग रहने गरेको छ । लागूऔषध गाँजासहित पक्राउ परेकाहरूको बयानका आधारमा मकवानपुर, सिन्धुली, सर्लाही, पर्साजस्ता जिल्लामा उत्पादित गाँजाको प्रमुख बजार सीमावर्ती भारतीय बजार रहेको बुझिन्छ ।

बुधबारको घटनामा पक्राउ परेका चौधरीको मोबाइलमा विभिन्न व्यक्तिको नाम कोड भाषामा सेभ गरेको प्रहरीले फेला पारेको छ । प्रहरी निरीक्षक पाठकले गाजा सप्लायर्सको मुख्य मानिसको नाम नै कोड भाषामा राखेको हुन सक्ने अनुमान गरे । रौतहटको इशनाथ नगरपालिका–१ स्थित झोलुंगे पुलनजिक २०८१ चैत्र २६ गते राति प्रहरीले हतियारसहित एक जना गाँजा कारोबारीलाई पक्राउ गरेको थियो । सो घटना भने अरूभन्दा फरक थियो । किनभने गाँजा तस्करहरूले हतियारको आडमा रेकी गरेर गाँजा भारत लैजाँदै थिए ।

यही घटनामा प्रहरीले गौर नगरपालिका–४ स्थित टिकुलियाका २१ वर्षीय सावन गिरीलाई गाँजा र हतियारसहित पक्राउ ग¥यो । झोलुंगे पुलको पश्चिमपट्टि केराबारीमा गौंडा कुरेर बसेको प्रहरी टोलीले सोही राति ४ जनाले टाउकामा प्लास्टिकको बोरा बोकेर हिँडेको फेला पारेको थियो । अगाडि–पछाडि केही मानिस टर्च बालेर गाँजा बोक्ने भरियालाई सुरक्षा दिइरहेका थिए । पुलको पश्चिमतर्फ केराबारीको बीच बाटो हुँदै भारततर्फ गाँजा बोकेर जाँदै गरेको देखेपछि प्रहरीले पहिचान गर्न टर्च बालेको थियो ।

त्यसपछि गाँजा बोकेकाहरू बोरा फालेर भागेका थिए । गिरीलाई पक्राउ गरेको ठाउँ नजिकै प्रहरीले गाँजाले भरिएको ४ वटा बोरा फेला परेका थिए । बोराभित्र साना ११ थान पोका थियो । पोकाभित्र झन्डै १ सय ९ किलो गाँजा रहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना कसुरअन्तर्गत अदालतबाट म्याद थपेर अनुसन्धान गरेको छ । यो घटनामा गाँजा बोक्ने समूहका अन्य ६÷७ जना फरार भएका थिए ।

तराई–मधेशका जिल्लामा गाँजाको ओसारपसार बढ्न थालेपछि जिल्ला प्रशासन पर्साले यही चैत २७ बाट लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रम सुरुवात गरेको छ । पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागूऔषध सेवनको महारोगबाट बचाउन सबैलाई आग्रह गरेका छन् ।

प्रहरी र प्रशासनले पर्सा जिल्ला लागुऔषध कारोबारको ट्रान्जिट हब बनेको भन्दै यस्तो अभियान शुरु गरेको छ । प्रजिअ अर्यालले नयाँ पुस्तालाई लागुऔषध सेवनबाट बचाउनका लागि अभियान थालनी गरिएको बताए । पर्साको जगरनाथपुर, पटेर्वासुगौली र ठोरी गाउँपालिका पछिल्लो समय लागूऔषध सेवनकर्ता र गाँजाको ट्रान्जिट हब बनेको छ ।

पर्सामा चालु आर्थिक वर्षमा लागूऔषधका २ सय २० वटा मुद्दा दर्ता छन् । पर्सामा सुरक्षाकर्मीले नौ महिनाको अवधिमा ३७ बिघा ४ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले ग्रामीण क्षेत्रका सामुदायिक वन र साझेदारी वन अतिक्रमण गरेर गाँजा खेती हुने सूचनाक आधारमा फडानी गरेर नष्ट गर्दै आइरहेको बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा खेती फडानी गरिरहेको बताए । पर्सा प्रहरीले ३ वर्षको अवधिमा गाँजा बरामद हुने क्रममा पनि वृद्धि भएको देखिन्छ । प्रहरीले ०७९÷८० मा १ हजार १ सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो ।

त्यस्तै ०८०÷८१ मा चार सय ६७ किलोग्राम र ०८१/८२ फागुनसम्मको अवधिमा १ हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ । मकवानपुर लगायतका जिल्लाबाट ओसारपसार हुने गाजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गरेको र यसको क्रम बढिरहेको जनाइएको छ । सिरहा प्रहरीले गत भदौँ २२ गते कर्जन्हा नगरपालिका–११ स्थित कर्जन्हा स्कुल टोलबाट झन्डै तीन क्विन्टल गाँजासहित सोही स्थानका ३७ वर्षीय प्रदीप मुखियालाई पक्राउ गरेको थियो ।

दुई दिनअघि सोही स्थानबाट इलाका प्रहरी कार्यालय, मिर्चैयाको टोलीले २ सय १७ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले सोही स्थानमा खोजी गर्दा ५० मिटरको दुरीमा खाली जग्गामा २ सय ९० केजी गाँजा बरामद भएको थियो । विभिन्न स्थानबाट ल्याएर भण्डारण गर्ने, बिक्री वितरण तथा भारत तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

जिल्ला प्रहरी बाराले २०८० असार १४ गते भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ६२ किलो गाँजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुरबाट बीआर २५ जीए १४५८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो । हेटौंडाबाट वीरगन्ज आउँदै गरेको तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले राजमार्गका सबै सवारी जाँच गर्न आदेश गरेका थिए । जाँचकै क्रममा ९ वटा पोका राखिएको गाँजासहित ट्रक नियन्त्रणमा लिएको थियो ।

गाडी चालक भने फरार भएका थिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा नेतृत्वको टोलीले राजविराज नगरपालिका–९ मलेठस्थित बाबा भूतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट गाँजासहित तस्करीका सामान बरामद गरेको थियो । तयारी अवस्थामा राखिएको २४ क्विन्टल १९ किलो गाँजा, चाइनिज स्याउ र अन्य सामान बरामद भएको एसपी खतिवडाको भनाइ छ ।

गत आर्थिक वर्षमा गाँजा तस्करीको आरोपमा १ महिलासहित ८७ जना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म ५ हजार ३ सय ६२ किलो बरामद गरेको छ भने लागूऔषध गाँजा ओसारपसार गरेको आरोपमा ३३ जना पक्राउ परेका छन् । प्रहरीको तथ्यांक हेर्दा सबैभन्दा बढी गाँजा तस्करी सप्तरीमा भएको देखिन्छ । सप्तरीमा गत वर्ष १ हजार ६ सय ३१ किलो र ३ हजार ६ ग्राम गाँजा बरामद भएको देखिन्छ ।

गत असोजमा सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजबाट २ सय ४० केजी गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहले सूचनाको आधारमा पछिल्लो ७ महिनाको अवधीमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट मात्रै ४ सय ९० किलो गाँजा बरामद भइसकेको छ । बागमती प्रदेशको मकवानपुरस्थित पहाडी भेग गाँजाको उर्वरभूमि नै बन्दै जान थालेको चिन्ता प्रहरीको छ ।

जिल्लाको मनहरीदेखि माथिल्लो भेगका पहाडी क्षेत्रमा सुरक्षाकर्मीले बर्सेनि गाँजा फँडानी गर्दै आए पनि यो समस्या समाधान हुन सकेको छैन । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले चुरे क्षेत्रमा गाँजा र अफिमको उत्पादन बढ्न थालेको बताए । गाजा तस्करीमा संलग्न पक्राउ परे पनि यसका मुख्य लगानीकर्तालाई जोगाउन बयानमा झुटो बोल्ने गरेको प्रहरीको भनाइ छ । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरेका अवकाश प्राप्त पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजमार्गमा तैनाथ प्रहरीको सूचना र प्रभावकारी सक्रियता आवश्यक रहेको बताए ।

Comment


Related News

Latest News

Trending News