
सप्तरीको सुरुंगा नगरपालिका–७ स्थित हरिपुर रामटोलकी १८ वर्षीया पूजाकुमारी रामको शंकास्पद मृत्यु घटनामा न्याय प्रक्रिया ढिलाइ भएको भन्दै दलित अधिकार क्षेत्रमा क्रियाशील तीन संस्थाले प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार नेपाल राम समाज, राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र जनचेतना दलित संगमका प्रतिनिधिहरूको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामले पूजाको रहस्यमय मृत्युपछि एक सातासम्म पनि दोषी पत्ता नलाग्नुले राज्य संयन्त्रको उदासीनता प्रकट गरेको आरोप लगाए । उनले पूजाकुमारीको घटना केवल एक युवतीको मृत्यु नभई यो समग्र दलित महिलामाथि भइरहेको हिंसा र त्यसप्रति राज्यको उदासीनताको गम्भीर संकेत गरेका छन् ।
सो मागपत्रमा पूजाको हत्याको निष्पक्ष र पारदर्शी अनुसन्धान, दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाही, घटना उजागर गर्न उच्चस्तरीय छानबिन समिति गठन, मधेशमा दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाहरूको समग्र अध्ययन र कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति र कानुनी संरक्षणको उल्लेख गरिएको छ ।
वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी पूजाकुमारी राम भोलिपल्ट गाउँ नजिकैको एक स्थानमा मृत फेला परेकी थिइन् । उनकी आमा रामवतीले छोरीको बलात्कारपछि हत्या गरिएको आशंका व्यक्त गर्दै इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन् । सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनाको अनुसन्धान चलिरहेको भए पनि अहिलेसम्म अपराधी नखुलेको बताए ।