२०८२ बैशाख ११, बिहीबार ०७:३३

विवाहको साइत जोडतोडले आइरहँदा दाइजो माग्ने र त्यसका लागि अनेक निहुँ खोज्ने बेहुलाहरुका लागि पर्सा जिल्ला अदालतले सचेतनामूलक सन्देश दिएको छ । पर्सा जिल्ला अदालतले मंगलबार गरेको एउटा फैसलामा माग अनुसारको दाइजो नपाएको भन्दै उत्पात मच्चाउने तत्कालीन बेहुला र उनका आफन्तहरुलाई ६/६ महिनाको सजाय सुनाएको छ ।

गत वर्ष बारा जिल्लाबाट पर्सा जिल्लामा आएको जन्तीसहितको दुल्हाले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विहे भाड्ने बेहुलासाहित ५ जनालाई अदालतले दोषी ठहर गरेको छ । अदालतले घटनामा संलग्न रहेको आरोपी ५ जनालाई जनही ६/६ महिना कैद र ५–५ हजार जरिवाना गरेको छ ।

बेहुली पक्षबाट दाइजोमा लिएको ५ लाख ६५ हजार समेत फिर्ता गर्न अदालतले आदेश दिएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले विवाह भाँड्नेहरुलाई दोषी ठहर गर्दै सजाय गरेको श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताएका छन् । २०८० सालको फागुन २७ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ रामगढवामा बेहुलीको घरमा जन्ती सहित बेहुला पुगेको बखत सुनको सिक्री नदिएको भन्दै विवाह भाँडिएको थियो ।

बेहुला उमेश साहले परीक्षण गरिसकेपछि सिक्रीको माग राखेका थिए । बेहुली पक्षले तत्कालै सो दिन असमर्थता जनाएपछि बेहुलाले विवाह गर्न अस्वीकार गरेको र त्यसमा उनका आफन्तहरुले सघाएका थिए । जन्ती र बेहुली पक्षबीच वादविवाद चर्किदै जाँदा घम्साघम्सीसम्म भएको थियो । त्यसपछि जन्ती रित्तै फर्केको थियो ।

पर्सा जिल्ला अदालतले गरेको फैसलामा बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय उमेश साह (बेहुला), उ ६० वर्षीय उनका पिता बच्चालाल साह गोढ, दाजुहरु ४२ वर्षीय राकेशकुमार साह, ४० वर्षीय मुकेशकुमार साह र बारा जिल्लाको परवानीपुर गाउँपालिकाको वडा नम्बर ५ बस्ने ४५ वर्षीय भिनाजु रामएकबाल साहलाई दोषी ठहर गर्दै फैसला गरेको छ । विवाह घरमा विवाद चर्किएर कुटाकुट हुन थालेपछि प्रहरीले बेहुलासहित ८ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले बेहुला सहित ५ जना विरुद्ध विवाहसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । पर्सा जिल्ला अदालतको आदेशमा बेहुला उमेश २ लाख, पिता बच्चालाल साह १ लाख, दाजु र भिनाजुसहित ३ जना २५–२५ हजार धरौटीमा रिहा भएका थिए । बेहुली पक्षले दाइजोसहित विहेमा भएको खर्चसहित फिर्ता र त्यसमा संलग्नहरुलाई दाइजो कसुरमा सजाय माग दावी गरेको थियो ।

दाइजो स्वरुप बेहुला पक्षले मोटरसाइकल किन्न ३ लाख, नगद २ लाख र ल्यापटप किन्न ६५ हजार नगद लिएको प्रमाण मात्र बेहुली पक्षले संलग्न गरेकाकाले ५ लाख ६५ हजार रकम फिर्ता गर्न अदालतले आदेश दिएको छ । बेहुली पक्षले बिहामा खर्च भएको सम्पूर्ण नगद तथा जिन्सी माग गरेको थियो ।तर अदालतले प्रमाण पुष्टि भएको आधारमा रकम फिर्ता गर्न आदेश दिएको श्रेस्तेदार मल्लिकले बताए । ‘वादीले गरेको दाबी मध्ये प्रमाण पुष्टि भएको रकम फिर्ता गर्न आदेश भएको छ’ उनले भने, अदालतको अन्य प्रक्रियामा केही समय लाग्नेछ । दाइजो लेनदेनलाई नेपालको कानुनले अपराध मानेको छ । तर समाजमा अझै दाइजो लेनदेन रोकिएको छैन् ।

दाइजोको कारण कतिपय बेहुलीहरुको हातको मेहँदीको रंग हटन नपाउँदै अनेक प्रकारको कष्ट सहनुपर्ने हुन्छ । समाजमा दाइजो कतिपय परिवारका लागि प्रतिष्ठा बनेको बताइन्छ ।जति बढी दाइजो लियो, त्यती ठूलो प्रतिष्ठित मानिने चलन अझै हटिसकेको छैन् ।दाइजो लेनदेनमा व्यापक कमि आएपनि पूर्ण रुपमा अझै रोकिएको छैन । बिहेवारीको मौसममा पर्सा जिल्ला अदालतको फैसलाले दाइजोको कारण बेहुलीमाथि गरिने हिंसा रोक्न सकारात्मक सन्देश जानेछ ।

Comment


Related News

Latest News

Trending News