
पटकपटक सिमेन्टको चर्को मूल्यवृद्धि घटाउनुपर्ने भन्दै सरकारको तीव्र आलोचना भइरहेको बेला एक्कासी फेरि सिमेन्टको मूल्यमा वृद्धि गरेको छ ।
गत चैतको तेस्रो साता सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँ घटाएको भनिए पनि बजारमा मूल्य भने घटेन । बरु उल्टै बढेको छ ।
यसअघि ७५० रुपैयाँ अधिकतम मूल्य रहेको ओपीसी सिमेन्टको मूल्य ७७१ रुपैयाँ निर्धारण गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टमा मूल्य घटाउनुको साटो थप वृद्धि गरेको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले उत्पादन बढाएर लागत घटाउनुपर्नेमा कटौती गरी मूल्य बढाएर लागत घटाइएको छ ।
सिमेन्ट र डन्डी दुवैमा कार्टेलिङ गरिएको र बजारमा सानो मात्रामा सिमेन्ट र डन्डी पठाएर मूल्य बढाएको उनको आरोप छ । गत चैत तेस्रो साता सिमेन्ट उद्योगीले मूल्य घटाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको थियो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको जिकिर गरेका थिए ।
त्यतिबेला मूल्य घटाएको भने पनि अहिले कार्यान्वयन नगरेको पाइएको महानिर्देशक दाहालले बताए । विभागले वैशाख १ गतेभित्र सबै सिमेन्ट उद्योगीलाई सिमेन्टमा फ्याक्ट्री गेट प्राइस राख्न निर्देशन दिएको थियो । जसअनुसार उद्योगीहरूले बोरामै फ्याक्ट्री गेट प्राइस राख्न थालिसकेका छन् ।
सो मूल्यमा थप नाफा जोडेर अधिकतम खुद्रा मूल्य एमआरपी राखेर व्यापारीहरूले बिक्री गर्न पाउने विभागले जनाएको छ । सिमेन्ट उद्योगमा लोडसेडिङ नघटेका कारण मूल्य घटाउन नसकिएको नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले बताए । अहिले डिजेलको मूल्य र लोडसेडिङ घटेका वेला सिमेन्टको मूल्य घट्नुपर्ने उनले तर्क गरे । तर मूल्य बढाएर असार लाग्नेबित्तिकै मूल्य घटाउने गरिएको उनको भनाइ छ ।