
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषासँग आवद्ध ३३ वटा पुस्तक व्यवसायीहरूले जनकपुरधाम उपमहानगरपालिकाले जारी गरेको पुस्तक सूची (बुक लिस्ट) कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
जनकपुरधाममा बुधबार पत्रकार सम्मेलनमा व्यवसायीहरूले उपमहानगरपालिकाले बुक लिस्ट सार्वजनिक गरेपछि लाखौँ रुपैयाँ लगानी गरेर ती सूचीमा समावेश पुस्तकहरू पसलमा भित्र्याइसकेको जनाए । जनकपुरधाम उपमहानगरले निर्णय कार्यान्वयन नगरेमा आफ्नो लगानी डुब्ने भन्दै उनीहरूले मेयर मनोज कुमार साहलाई सो निर्णय कार्यान्वयन गर्न माग गरेका छन् ।
महासंघका सहसचिव बजरंग यादवले उपमहानगरपालिकाले नगरका सबै विद्यालयहरूमा किताबको एकरूपता ल्याउने निर्णयले विद्यार्थी, अभिभावक र व्यवसायी सबैलाई सहज बनाएको उल्लेख गर्दै उपमहानगरलाई धन्यवादसमेत दिए । साथै, आफैंले गरेको निर्णयलाई यथास्थितिमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले मंगलबार नै अन्तिम बुक लिस्ट जारी गरिने भनिएपनि बुधबारसम्म पनि सो सूची सार्वजनिक नभएकाले अभिभावक र व्यवसायीहरू अन्योलमा परेका छन् ।
त्यस्तो अवस्थाले पुस्तक व्यवसायीहरूको लगानी जोखिममा परेको भन्दै उनले उपमहानगरलाई शीघ्र र स्पष्ट निर्णय लिन आग्रह गरेका छन् । व्यवसायीहरूका अनुसार उपमहानगरपालिकाको निर्णय अनुसार नै पुस्तक खरिद गरिएकोले अहिले आएर अन्य विकल्पमा जाने अवस्था नरहेको र समयमै निर्णय नभएमा लाखौँको लगानी खेर जाने जोखिम रहेको छ । उनीहरूले तत्काल अन्तिम बुक लिस्ट सार्वजनिक गरी पहिले गरिएको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।