
सिरहा नगरपालिका–१३ का वडाध्यक्ष सर्भेन्द्र साह सचिनसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको महिना दिन बित्न लागे पनि प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ मा जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता भएको थियो । तर मुद्दा दर्ता भएको झन्डै एक महिना भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।
अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो, पाण्डब महतो, प्रकाश महतोविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने घटनाको अनुसन्धान भइरहेको जिकिर गरे ।
सिरहा नगरपालिका–१३ स्थित फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीले २०८० पुष २२ मा आफ्नो जग्गामा बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई दुव्र्यवहार गर्दै घरमा आगो लगाइदिएको, घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पु¥याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए ।
सो घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका थिए । तर पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरिदिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका थिए । सो विवाद हुनुअघि पनि आफ्नो निजी जग्गामा बार लगाउन खोज्दा वडाध्यक्ष साहले पूर्वाग्रह राखेर अवरोध गरेको र त्यसपछि अदालतबाट आदेश ल्याएरै गर्दा पनि उनले हुल ल्याएर आफ्नो परिवारमाथि आक्रमण, घरमा आगजनी र लुटपाट गरेको भण्डारी सुनाए ।
तर राजनीतिक संरक्षणका कारण उनीहरूलाई अहिलेसम्म केही हुन नसकेको तथा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न आनाकानी गर्दै आएको भण्डारीको बताए । पक्राउ पूर्जी जारी भए पनि वडाध्यक्ष साह पूर्वकानून मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद एवं एमाले नेता लिलानाथ श्रेष्ठ जिल्लामा हुँदा उनीसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने गरेका छन् ।