
सिरहा प्रहरीले सीमावर्ती क्षेत्रबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ गरेको छ ।
जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारीस्थित नरगी चोकबाट उनीहरूलाई पक्राउ गरिएको छ । सिरहा प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरू भारत, बिहार राज्यको मधुवनी जिल्लास्थित पिपराही ग्रामपञ्चायत–२, कमलपुरका १९ वर्षीय राजिव सिंह र प्रिन्स सिंह छन् । उनीहरूलाई गत सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका उनीहरूलाई नरगी चोकमा शंका लागेर चेकजाँच गर्दा प्रीन्स सिंहको कम्मरमा लुकाइएको एक थान पेस्तोल र ट्रयाकसूटमा लुकाइएको एक थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।