२०८२ बैशाख १२, शुक्रबार ०७:३४

सिरहाको गोलबजारमास्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस विगत दस वर्षदेखि क्याम्पस प्रमुख विहीन अवस्थामा रहेको छ ।

सरकारी शिक्षकसमेत रहेका किशोरकुमार साह अवैधानिक रूपमा अस्थायी रूपमा क्याम्पस प्रमुख भएर काम गर्दै आएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी शिक्षक रहेका साहलाई क्याम्पस सञ्चालक समितिले २०७१ माघ २३ मा तीन वर्षका लागि प्रमुखको रूपमा नियुक्त गरेको थियो । तर करार अवधि सकिए पनि उनी अझै क्याम्पस प्रमुखमै कायम छन् ।

विश्वविद्यालय अनुदान आयोगले विद्यार्थी संख्याका आधारमा सामुदायिक क्याम्पसहरूलाई वर्षेनि अनुदान दिने गर्छ । त्यसका लागि भने पूर्णकालीन प्रमुख आवश्यक हुन्छ । तर सो क्याम्पसमा पूर्णकालीन प्रमुख नहुँदा आयोगले निरन्तर अनुदान रकम घटाउँदै आएको थियो । सो आयोगले यसपालि भने अनुदान नै कट्टा गर्ने तयारी गरेको थियो ।

पूर्णकालीन प्रमुख अनिवार्य हुने बाध्यकारी नियमका कारण अनुदान कट्टा हुने भएपछि चरम आर्थिक अनियमितताले विवादमा रहेको सो क्याम्पसबाट गोप्य रूपमा फर्जी प्रमुख खडा गरी आयोगमा पत्र पठाइएको खुलेको छ । अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द्र पटेलले पनि क्याम्पसबाट नयाँ प्रमुख नियुक्त गरिएको पत्र आएको पुष्टि गरे। क्याम्पसको पत्र २०८१ चैत १२ मा आयोगमा प्राप्त भएको उनले बताए ।

प्रमुख नियुक्त गरिएका मनोज साह यही क्याम्पसका अंग्रेजी शिक्षक हुन् । तर आफू प्रमुख नियुक्त भएको कुरो उनी आफैंलाई थाहा छैन । यस विषयमा आफूलाई केही थाहा नभएको र अहिले पनि क्याम्पस प्रमुख किशोर साह नै भएको उनले बताए । सो अनुदान रकम हत्याउनकै लागि फर्जी रूपमा पूर्णकालीन प्रमुख खडा गर्ने काममा प्रमुख साहदेखि सञ्चालक समितिसम्मको संलग्नता देखिन्छ ।

सञ्चालक समितिका अध्यक्ष सूर्यमान तामाङले पनि अनुदानकै लागि मनोज साहलाई प्रमुख नियुक्त गरिएको स्वीकार गरे । सो सञ्चालक समिति सदस्य एवं गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठले पनि यस विषयमा आफूलाई जानकारी नभएको दाबी गरे ।

Comment


Related News

Latest News

Trending News