२०८२ बैशाख १२, शुक्रबार ०७:४४

मिथिला वारियर्सले मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिता तेस्रो संस्करणको उपाधि जितेको छ ।

सप्तरीको राजविराजस्थित पविमावि खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेका मिथिला वारियर्सले सप्तरी बलानबिहुललाई ५ विकेटले पराजित गर्दै उपाधि चुमेको छ ।

टस जितेर बलानबिहुलले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेको थियो । बलानबिहुलका लागि कप्तान विवेक यादवले २ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४५ रन, लोकेश बमले ४१ रन, सुजन थपलियाले २८ रन र फिर्दोष अन्सारीले १५ रन बनाए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्री ३ विकेट तथा शेर मल्ल र कुशल भुर्तेल २/२ विकेट तथा नन्दन यादवले १ विकेट हात पारेका थिए ।

१ सय ५४ रनको लक्ष्य लिई मैदानमा ओर्लेका मिथिला वारियर्सले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर जित हात पार्दै उपाधि माथि कब्जा जमाएको छ । कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेको थियो । यसैगरी अर्का ब्याट रवि साह ४४ रन र बसिर अहमद २५ रनको योगदान गरे ।

बलिङतर्फ विवेक यादव र अरनिको यादवले २/२ विकेट लिएका थिए । फाईनल प्लेयर अफ दि म्याच कुशल भुर्तेल घोषित भए । प्रतियोगिताको प्लेयर अफ दि सिरिज विशाल पटेल (जनकपुर सनराईज) बेस्ट ब्याटर आशीष शेख (जनकपुर सनराईज) बेस्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका थिए । सो प्रतियोगिताको विजेता टिमलाई मुख्यमन्त्री सतीशकुमार सिंहले नगद ९ लाख १ हजार र कपसहित पुरस्कृत गरे । उपविजेतालाई ४ लाख १ हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

Comment


Related News

Latest News

Trending News