
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले किसानहरूसँग गहुँ खरिद गर्न थालेको छ ।
सरकारी समर्थन मूल्यअनुसार खरिद प्रक्रिया बिहीबारदेखि औपचारिक रूपमा शुरु गरिएको हो । कार्यालय प्रमुख निर्मल थापाले जनाए अनुसार यस वर्ष प्रतिक्विन्टल गहुँको मूल्य ३,८६७.३८ रुपैया निर्धारण गरिएको छ । सोही मूल्य दरमा किसानसँग प्रत्यक्ष खरिद भइरहेको उनले बताए ।
यस वर्ष धनुषा र महोत्तरी जिल्लाका कृषकहरूबाट २,५०० क्वीन्टल गहुँ संकलन गर्ने लक्ष्य रहेको छ । खरिदको व्यवस्था अन्तर्गत एक जना किसानबाट अधिकतम ५० क्विन्टल, र सहकारी संस्थाबाट ५०० क्विन्टलसम्म गहुँ खरिद गरिने छ । कार्यालयमै निःशुल्क काँटाको व्यवस्था गरिएको छ । जहाँ किसानहरूले गहुँ तौल गराउन सक्नेछन् ।
गहुँ सफा गरिएको, तोकिएको मापदण्ड अनुसारको हुनुपर्नेछ भने बिक्री गर्नका लागि सम्बन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्ने जनाइएको छ । भुक्तानी चेकमार्फत प्रदान गरिनेसमेत उनले बताए । एकातर्फ गहुँ खरिद शुरु भएको छ भने अर्कातर्फ अघिल्लो समयको धान खरिद लक्ष्य अधुरै रहेको देखिएको छ ।
चालु आर्थिक वर्षमा ३२ हजार क्वीन्टल धान संकलन गर्ने योजना रहे पनि केवल ५,३४६ क्विन्टल मात्र खरिद गरिएको थियो । कार्यालयले जनाए अनुसार समर्थन मूल्यभन्दा खुला बजारमा मूल्य बढी भएका कारण किसानहरूले धान निजी व्यापारीहरूलाई बिक्री गरेका थिए । सरकारले धानको मूल्य ३,५८० रुपैया प्रतिक्वीन्टल तोकेको भए पनि बजारमा ४,००० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।