
सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
‘प्रचण्ड’ गोरखा भूकम्प गएको १० वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन बारपाक पुग्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि देशबाहिर हुनुहुन्छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभामा आज उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।