सीमावर्ती नेपाल र भारतीय बजारमा भारतीय मुद्राको बट्टामा भारी कमि आएको छ ।
जानकारहरुका अनुसार केहि दिन भित्रै नेपाली मुद्रा भारतीय मुद्रासित बराबर हुने सम्भावना छ । नेपालको भन्दा भारतीय बजारमा सुनको मुल्य प्रति तोला ६ हजार नेपाली रुपैया कम रहेकाले भारतबाट सुन तस्करी भएर नेपाल आउन थालेको छ । नेपालमा सुन आउन थालेपछि भारतीय मुद्राको माग घटेको बताइन्छ ।
सीमावर्ती बजारमा सुनको कारोबारसित भारतीय मुद्राको प्रत्यक्ष सरोकार रहेको बताइन्छ ।भारतीय बजारमा अहिले सुन नेपालको भन्दा प्रति तोला ६ हजार बढी सस्तो छ । नेपालबाट भारतमा अधिकांश समय सुन तस्करी हुने भएपनि कहिले काहीँ भारतबाट समेत नेपालमा सुन तस्करी भएर आउने गरेको छ ।सर्वाधिक महँगो धातुहरु मध्येको सुनको तस्करी दुई देशबीच लामो समयदेखि हुँदै आएको छ । केही हप्ता पूर्व सम्म भारतीय मुद्राको बट्टा ४ रुपैयाँसम्म थियो ।
भारतको प्रयागराजमा भएको कुम्भ मेलाको बखत भारतीय मुद्राको बट्टा ८ रुपैयाँ नाघेको थियो । तर अहिले सयकडा २ देखि ३ रुपैयाँसम्म रहेको छ । यद्यपि सीमावर्ती नाकाहरुमा पसलेहरुले गर्ने खरिद बिक्रीमा बट्टा फरक रहने गरेको छ । तर हुण्डीलगायतका कारोबारीहरुले अहिले अधिकतम् ३ रुपैयाँ बट्टामा कारोबार भइरहेको बताउँछन् ।
नेपालमा नेपाली रुपैयाँ जम्मा गरी भारतको विभिन्न सहरमा भारतीय रुपैयाँ उपलब्ध गराउने हुण्डीका कारोबारीहरुले भारतीय मुद्राको बट्टा अझैँ झर्ने बताउँछन् । तर मंगलवारको तुलनामा शुक्रवार बट्टा केही बढेको बताइन्छ । भारतीय सीमावर्ती बजारहरुमा नेपाली मुद्रामै कारोबार हुने भए पनि व्यवसायीहरुले सयकडा ३ रुपैयाँसम्म बट्टा लिने गरेका छन् । नाकामा सटहीको कारोबार गर्ने साना व्यवसायीहरुले चर्को बट्टा लिने गरेका छन् ।
भारतमा नेपाली कार्ड स्वायब हुन थालेको कारण व्यवसायी अथवा पर्यटकहरुले नेपालबाट धेरै भारतीय मुद्रा बोकेर जाने गरेका छैनन् । थोरै नगद बोकेर जाँदा पनि भारतीय मुद्राको अभाव अथवा धेरै महँगोमा खरिद गर्नुपर्ने बाध्यता देखिदैन । नेपालको तर्फबाट सीमा क्षेत्रमा भारतीय रुपैयाँ सटहीको व्यवस्था छैन । अवैध रुपमा हुने सटहीले बट्टा बढाएको छ ।
सरकारी स्तरमा १ सय भारतीय रुपैयाँको १ सय ६० रुपैयाँ नै कायम रहेको छ । तर अवैध रुपमा १ सय भारतीय रुपैयाँ खरिद गर्न १सय ६२ देखि १ सय ६४ सम्म कारोबार हुने गरेको छ । भारतीय बजारमा नेपाली रुपैयाँमा कारोबार हुने गरिन्छ । त्यो वैध होइन । त्यसैगरि नेपाली बजारमा भारतीय मुद्राको वैधानिक रुपमा १ सयको नोट मात्र मान्य छ । तर सबै दरको नोटबाट नेपालमा कारोबार भइरहेको छ । भारतमा कारोबार हुने नेपाली रुपैयाँ अवैध रुपमा पुनःनेपाली बजारमा फर्किने गरेको छ । तर त्यो रुपैयाँलाई कानुनले अवैध मान्छ ।
भारतबाट ल्याइने नेपाली रुपैयाँको स्रोत वैध नभएकाले कारवाही हुने गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए । कानुनी रुपमा अवैध रहे पनि व्यवहारिक रुपमा भारतीय नागरिक र नेपाली नागरिकले दुबै बजारमा कारोबार गर्दै आएको युवा व्यवसायी राजिव कुमार साह‘चन्दन’ले बताए ।
सुनको तस्करीबारे अनभिज्ञ रहेको बताउने साहले नेपाल र भारतमा गैरसरकारी कारोबारमा रुपैयाँमा बट्टा लाग्ने गरेको स्वीकार छन् । केही सुन व्यवसायीहरुका अनुसार अहिले भारतबाट नेपालमा अवैध रुपमा आइरहेको छ । सुन तस्करीको कारण नै सीमा क्षेत्रमा भारतीय रुपैयाँको बट्टामा तलमाथि हुने गरेको बताइन्छ । विगतमा चीनबाट अवैध रुपमा सुन ल्याएर भारतमा बिक्री गर्ने धन्धा अहिले रोकिएको एकजना व्यवसायीले बताए । ‘सुनको तस्करी नेपालबाट अहिले रोकिएको छ’ उनले भने, भारतबाट नै सुन आउन थालेपछि त्यसको असर भारतीय रुपैयाँको बट्टामा देखिएको छ । तर कपडा र किराना व्यवसायीहरुले बिहाबारीको बेला भारतीय रुपैयाँको बट्टा बढनु पर्ने बताउँछन् । तर अहिले बट्टा घट्नुको कारण अन्य कुनै हुने उनीहरुको कथन छ ।


