२०८२ बैशाख १३, शनिबार ०८:०४

नेपाल चिकित्सक संघको आह्वानमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । जनकपुरधाममा शुक्रबार चिकित्सा शिक्षा आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सयौं चिकित्सकले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् ।

चिकित्सकहरूको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्रमा अविलम्ब भत्ता सम्बन्धी निर्णय सच्याउन, चिकित्सकहरूमाथि भइरहेको अन्याय अन्त्य गर्न र स्वास्थ्य क्षेत्रप्रति सरकार गम्भीर बन्नु पर्ने माग गरिएको छ । आन्दोलनकारी चिकित्सकहरू आपतकालीन सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दै विरोधमा उत्रिएका छन् ।

यसका कारण जनकपुरधामलगायत आसपासका जिल्लाहरूमा उपचार सेवामा गम्भीर प्रभाव परेको छ । आन्दोलनमा सहभागी डा. रामज्ञान यादवका अनुसार चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा गरिएको निर्णय अनुसार आवासीय चिकित्सकहरूलाई दिइनुपर्ने जीवन निर्वाह भत्ता प्रदान नगरेकोप्रति चिकित्सक समुदाय आक्रोशित बनेको छ ।

‘देशभरिका अस्पतालहरूमा दिनरात सेवामा खटिएका आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ताबाट वञ्चित गर्नु उनीहरूप्रति अन्याय हो । हामी न्याय मागिरहेका छौं । तर, हामीलाई बेवास्ता गरिएको छ,’ डा. यादवले भने । नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. अमित रञ्जन मिश्राका अनुसार सरकार तथा सम्बन्धित निकायले आफ्नो निर्णय सच्याउने र चिकित्सकहरूको जायज मागलाई सम्बोधन गर्ने आश्वासन नदिएसम्म आन्दोलन जारी रहने छ ।

जनकपुरधामको जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित धर्नामा निजी अस्पतालहरू तथा मेडिकल कलेजहरूका चिकित्सकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । उनीहरूले ‘चिकित्सकको श्रमको सम्मान गर’, ‘आवासीय चिकित्सकको हक सुनिश्चित गर’, ‘स्वास्थ्य सेवा बन्द हुनुको जिम्मेवार सरकार’ लगायतका नाराहरू लगाएका थिए । आन्दोलनका कारण जनकपुरधामलगायत विभिन्न अस्पतालहरूमा बिरामीहरूले सास्ती भोग्नुपरेको छ । आकस्मिकबाहेक सबै सेवा बन्द हुँदा सेवाग्राही सास्ती भोग्न बाध्य छन् ।

Comment


Related News

Latest News

Trending News