२०८२ बैशाख १५, सोमबार ०८:५१

श्याम वस्त्रालयका प्रोप्राइटर श्यामप्रसाद गुप्ताविरुद्ध राजस्व चुहावटको आरोपमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुर–राजविराज इजलासमा मुद्दा दायर गरेको छ ।

भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा गुप्ताविरुद्ध आइतबार अभियोगपत्र दायर गरिएको विभागकी उपमहानिर्देशक एव प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जनाएकी छन् । उनले दिएको जानकारी अनुसार राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान कार्य सम्पन्न गरी आइतबार अभियोगपत्र दायर गरिएको छ । सिराहाको लहान नगरपालिका– ८ स्थित श्याम वस्त्रालयमा खानतलासी गर्दा गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो ।

आयोगले गुप्ताविरुद्ध १० करोड ६८ लाख ५५ हजार ७९५ रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो असुल उपर गरी बिगोको सतप्रतिशत जरिवानासमेत गरी कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ असुलउपरको मागदाबी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News