२०८२ बैशाख १६, मंगलवार ०७:४७

नेपाली महावाणिज्य दूतावास कलकाताको आयोजना र वीरगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा संघकै सभाहलमा भारतको हल्दिया र कलकत्ताबाट वीरगञ्जसम्म हुने अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित क्षेत्रमा हाल भोग्नुपरेका समस्या र आगामी कार्यदिशा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आयात निर्यातका क्षेत्रमा आइपर्ने व्यवहारिक समस्या र नीतिगत समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने र कलकाता पोर्ट र हल्दिया पोर्टका साथै आइसिपी र आइसिडीसँग जोडिएका व्यवहारिक कठिनाइलाई संयुक्त सहकार्यमा समाधान गर्नका लागि सकारात्मक रहेको टिप्पणी गरे ।

सो कार्यक्रमका सभापति नेपाली महावाणिज्य दूतावास, कोलकाताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाली महावाणिज्य दूतावास, कोलकाताको कार्यक्षेत्र, प्रदान गर्दै आएको सेवा बारेमा विस्तृत जानकारी गराए । उनले आयात निर्यातका क्रममा नेपाली उद्योगी/व्यवसायीहरुले कलकाता पोर्ट, हल्दिया पोर्ट लगायत पोर्टहरुमा आई पर्ने समस्याको समाधानको लागि महावाणिज्य दूतावास सदैव तत्पर रहेको बताए । उनले कलकाता महावाणिज्य दूतावासको कार्यक्षेत्रभित्र पर्ने ट्रेड फेसिलिटेशन, पर्यटन क्षेत्रको प्रबद्र्धन र स्तरोन्नतिका लागि विगतका वर्षहरुदेखि नै भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै कतिपय समस्याहरु भारतीय उच्च पदस्थ अधिकारीसँग समन्वय गरेर समाधान गर्नुपर्ने हुँदा समन्वय र सहकार्यमा केही समय व्यतित हुने गरेकोबाट पनि समाधानमा ढिलाई हुने गरेको स्पष्ट पारे ।

वीउवासंघका कार्यवाहक अध्यक्ष माधव राजपालले मुलुकको आपूर्ति व्यवस्थालाई सन्तुलित तुल्याउन आयात निर्यातले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले आयातका क्रममा खर्चहरु कटौती गर्दै नेपालमा आयात हुने सामानहरुको लागत कटौती गरी प्रतिस्पर्धी बनाउँदै जानुपर्नेमा शिपिंग कम्पनीहरुले विभिन्न शुल्कका नाममा आयातकर्ताहरुबाट रकम असुल्ने कार्य गरिरहेकोले नेपालमा आयात हुने सामानहरुको लागत बढ्दै गइरहेको र यस्ता शुल्कहरु कटौती गर्दै जानुपर्ने धारणा राखे । उनले शिपिंग कम्पनीहरुले कन्टेनर डिटेन्शन चार्ज, कन्टेनर मेन्टिनेन्स चार्ज, कन्टेनर रिपेयर चार्जलगायतका नाममा नेपाली आयातकर्ताहरुबाट रकम असुल गरिरहेका र यसरी एउटै प्रकृतिको कामको लागि दोहोरो रकम असुल गरिरहँदा आयातकर्ताहरुले आयात गरेको सामानहरुको लागत पनि बढिरहेको बताए । त्यस्तै शिपिंग कम्पनीहरुलाई तिर्नु पर्ने रकम पठाउनको लागि प्रोपर च्यानल नभएकोले आयातकर्ताहरु अनावश्यक कठिनाइ व्यहोर्नु परिरहेको बताउँदै शिपिंग कम्पनीहरुको सम्पर्क कार्यालय वीरगञ्जमा स्थापना हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले आयात निर्यातका क्रममा आउने अप्ठ्याराहरुको समाधानको लागि नेपाली महावाणिज्य दूतावास, कलकाता, एकीकृत जाँचचौकी, सुख्खा बन्दरगाह भन्सार, कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य संघ र सिमावर्ती क्षेत्रमा रहेका उद्योग वाणिज्यहरुले सेतुको काम गर्न सक्ने भएकोले यी निकायहरुबीच समन्वय हुनुपर्ने जोड दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयले उद्योग, व्यापारको लागि प्रबद्र्धनात्मक एवम् ट्रेड फेसिलिटेशनको कार्य गर्दै आएको बताए । सो कार्यक्रममा वक्ताहरुले कलकाता पोर्ट, हल्दिया पोर्ट लगायतका पोर्टहरु, एकीकृत भन्सार जाँचचौकी, सुख्खा बन्दरगाह भन्सार कार्यालयहरुमा भोग्नु परेका समस्या र सोको समाधानको लागि सरोकारवाला निकायहरुले खेल्न सक्ने भूमिकाका बारे प्रष्ट पारे ।

सो कार्यक्रममा वीउवासंघका उपाध्यक्ष आशिषकुमार लाठ, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना, रामप्रसाद पाठक, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बडुवाल, नेपाली महावाणिज्य दूतावास, कलकाताका अधिकारीहरु, नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News