नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी बजेट निर्माण गर्दा ‘नोट हेरेर होइन, विकास हेरेर’ केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रमबारे सुझाव संकलन गर्न आयोजित कार्यक्रममा सहभागी नेताहरूले बजेट जनहितमैत्री र विकासमुखी हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सुझाव राख्दै कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको अर्थमन्त्रीले पहिलोपटक प्रदेश सरकारमा बजेट ल्याउन लागेको अवसरलाई जनताको हितमा प्रयोग गर्न आग्रह गरे । केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नयाँ पुस्ताले मुलुक निर्माणको जिम्मेवारी बोक्नुपर्ने बताए। उनले अवसरको सदुपयोग गर्दै जनतालाई केन्द्रमा राखेर सकारात्मक राजनीतिमा प्रेरित गर्ने काम गर्न सुझाव दिए । राष्ट्रियसभा सदस्य तथा पार्टी अनुशासन विभाग प्रमुख आनन्द ढुङ्गानाले संघीयता सबलीकरण गर्ने दिशामा बजेट बनाउने आवश्यकतामाथि जोड दिए। “प्रदेश सरकारको कामले नै संघीयताको भविष्य निर्धारण गर्छ,” उनले भने, “त्यसैले संघीयता बलियो पार्ने खालको बजेट ल्याउन आवश्यक छ ।”
प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।


