२०८२ बैशाख १७, बुधबार ०८:०७

अबका तीन दिन पर्सि शुक्रवारसम्म नै देशका धेरैजसो ठाउँमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा हावाहुरी र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । यो क्रम तीन दिनसम्म नै रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । अहिले कोशी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्का पानी परिरहेको छ ।

तराई क्षेत्रमा हावाहुरीले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौ उपत्यकामा पनि अहिले आकाश धुम्म छ । आज दिउँसोपछि छिटपुट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News