२०८२ बैशाख १९, शुक्रबार ०८:०३

धनुषाको वन क्षेत्रबाट अवैध उत्खननको आरोपमा ट्रैक्टरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्रैक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार राति वन कर्मचारीको गस्ती टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्रैक्टरसहित उत्खननमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले जनाए अनुसार सव डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले ज १ त ६३७७, ज १ त ४८५६ र मधेश प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट् याक्टर नियन्त्रणमा लिएको छ ।

यसका साथै उनले मिथिला नगरपालिका–५ स्थित विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरालाई पनि नियन्त्रणमा दिएको बताए । सिंहले अवैध उत्खनन आरोपमा पक्राउ परेका मानिस तथा प्रयोग भएका सवारीसाधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले भने, ‘वन क्षेत्रको संरक्षणका लागि नियमित गस्ती भइरहेको छ । अवैध उत्खनन तथा वन क्षेत्रको दोहन गर्ने कार्यमा संलग्न कसैलाई पनि कानुनी दायराबाट बाहिर जान दिइने छैन ।’

Comment


Related News

Latest News

Trending News