
मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दा हालेकी किशोरीले आफूलाई मानसिक यातना दिइएको आरोप लगाएकी छन् ।
पीडक अहिराजलाई पक्राउ गर्न प्रहरीले कुनै तदारुकता नदेखाएको आरोप पनि उनले लगाइन् । एक किशोरीले नाबालिक अवस्थामै डा. अहिराजले आफूलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएकी थिइन् । काठमाण्डु जिल्ला अदालतले चैत २५ मा डा. अहिराजलाई पक्राउ अनुमति (पुर्जी) दिएको थियो । तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।
जाहेरवाली परिवर्तित नाम २६ परिसर ३२ (०८१/०८२) ले पीडक पक्राउमा प्रहरी उदासीन भएको भन्दै अनुसन्धानकर्मीसँग गुनासो गरेको स्रोतले जनाएको छ । जाहेरी दर्ता भए पनि आफूलाई विभिन्न माध्यमबाट धाक धम्की खेप्नु परिरहेको उनले प्रहरीसंग गुनासो गरिन् । पीडकले सामाजिक सन्जालमार्फत आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहसंग खिचेको फोटो देखाउँदै धम्कीयुक्त म्यासेज पठाएको समेत किशोरीले दाबी गरिन् ।
आफ्नो उच्च पहुँचबाट सतर्क रहन डा. अहिराजले धम्की दिएको उनले प्रहरीलाई बताइन् । प्रहरीले धम्कीसम्बन्धी पुरक जाहेरी दिएमा पक्राउ परेपछि सो विषयमा पनि अनुसन्धान र सजाय हुने सुझाव दिएको छ । जिल्ला प्रहरी परिसर भद्रकालीका एसपी अपीलराज बोहराले गम्भीर कसुरमा पक्राउ पुर्जी जारी भएको अवस्थामा परिसरसहित प्रहरीका अन्य युनिट पनि त्यस्ता व्यक्तिको खोजीमा लाग्ने गरेको बताए ।