
धार्मिक ग्रन्थहरुमा वर्णन भएअनुसार, जानकीको जन्म वैशाख शुक्ल नवमी तिथिको दिन मध्यान्ह भएको थियो । यसै तिथिलाई स्मरण गर्दै जानकी जन्मभूमि जनकपुरधाममा प्रत्येक वर्ष जानकी नवमी महोत्सव आयोजन हुँदै आएको छ । भूमिबाट प्रकट भएकी भूमिजा मिथिलाकी चेली मात्र होइन, मान, सम्मान र संस्कार पनि हो ।
यसैले होला, मिथिलाञ्चलकी सम्पूर्ण बेहुलीलाई सीता र बेहुलालाई रामको रुपमा आदर, सम्मान र स्नेह गर्ने चलन छ । तर हामीले चिनेका, बुझेका तथा चर्चा–परिचर्चामा आउने जानकीको जीवन गाथा अर्थात् जन्मदेखि विवाह र वनवाससम्मका कथा–व्यथाको कथ्य वाल्मीकि र तुलसीकृत रामायणबाट निर्देशित छ । कविहरुले जे लेख्नु भयो हामी त्यसैलाई सत्य मान्याँै र अझै पनि मान्दै आएका छौँ । तर आज मलाई फरक ग्रन्थ र फरक लेखकले वर्णन गर्नु भएको जानकी चरित्रको चर्चा गर्न मन लागेको छ ।
सन् १९५० को दशकमा जानकी मन्दिरका एकजना विद्वान पुजारी थिए– रामसिनेही दास । उनले जानकी चरिचामृत नामकग्रन्थ लेखेका थिए । अचेल यो ग्रंन्थ केही अध्येतासंग मात्र छ । सजह उपलब्ध छैन । यस ग्रन्थको सार संक्षेप हालै प्रकाशित भएको छ । अर्थशास्त्रका अध्येता, त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक मधेश प्रदेश, नीति तथा योजना आयोगकका पूर्वउपाध्यक्ष, प्रा.डा.हरिवंश झाद्वारा लिखित ‘श्री सीता बाललीला’ नामक यो पुस्तक राम–जानकीबारे मिथिला समाजमा व्याप्त अनेकाँै भाष्य खण्डित गरेको छ र नयाँ भाष्य स्थापित गर्ने जमर्को गरेको छ ।
जानकी मन्दिरका पुजारी रामसिनेही दासद्वारा लिखित जानकी चरितामृतको भाषा संस्कृत भए पनि सारगर्भित, सुवोध र लालित्यपूर्ण छ । सरस्वतीले सीताको बाल स्वरुपको वर्णन गर्ने क्रममा भनेकी अभिव्यक्तिबाटै यसको पुष्टि हुन्छ– ‘जनको मधुरो जननीमधुरा मधुरा अनुजाअनुगामधुराः । सुकुलं मधुरं नगरं मधुरं मिथिलेशसुतासकलं मधुरम् ।
जानकी मन्दिरका पुजारी रामसिनेही दासद्वारा लिखित जानकी चरितामृतमा जनकपुरधामको वर्णन, सीताजन्म, बालक्रिडा, राम–जानकी मिलन, धनुषयज्ञ, राम–सीता विवाह आदि प्रसंग यस अघि हामीले पढ्दै, सुन्दै र हेर्दै आएका भाष्यभन्दा फरक छन् । हामीले पढे र बुझेका थियाँै– मिथिलामा १२ वर्षको अनिकाल पर्दा राजा जनकले जनहितका लागि हलेष्ठी यज्ञ गरेका थिए । हलो जोत्ने क्रममा सीता प्रकट भएकी थिइन् । तर जानकी चरितामृतले राजा जनकपुत्रीको रुपमा सीतालाई प्राप्त गर्न पुत्रिष्ठी यज्ञ गरेको उल्लेख छ ।
यस प्रसंगलाई यसरी वर्णन गरिएको छ– अयोध्या नरेश दशरथ राम, लक्ष्मण, भरत, शत्रुघ्नको ५ औं जन्मोत्सव (लेखकको शब्दमा आनन्दोत्सव) मा जनकलाई पनि आमन्त्रित गरेका थिए । जनक रामको रुप, रंग तथा चमत्कारिक व्यक्तित्व देखेर मोहित भएका थिए । रामप्रति दशरथको वात्सल्यभाव देखेर उहाँमा रामलाई ज्वाइँको रुपमा वरण गर्ने इच्छा जागृत भयो । – ‘यस पृथ्वीमा जे जति सुख छ, यसमा वात्सल्य सुख सर्वोपरी हो । यो वात्सल्य सुख पिता, आचार्य, सासु र ससुरालाई मात्र प्राप्त हुन्छ ।’ तर जनक निःसन्तान थिए । रामलाई ज्वाइँको रुपमा प्राप्त गर्न छोरी चाहिन्थ्यिो । पुत्री पाउनका लागि उनले भगवान शिवको आठ वर्षसम्म तपस्या गर्नु भयो ।
शिवले उहाँलाई पुत्रिष्ठी यज्ञ गर्ने सल्लाह दिनु भयो । पुत्रिष्ठी यज्ञपश्चात् जनकलाई सीताको रुपमा पुत्री प्राप्त भएको थियो । जानकी चरितामृतमा वर्णन भए अनुसार, सीताको जन्म हलोको सीतबाट नभइ यज्ञको हवनबाट भएको थियो । यज्ञको हवनबाट वैशाख शुक्ल पक्षको नवमी तिथिमा प्रकट भएकी सीताको उमेर १२ वर्ष थियो । पछि आमा सुनैना र पिता जनकलाई वात्सल्य सुख प्राप्त होस् भनेर तिनी बाल रुपधारण गरेकी थिइन ।
डा.झाद्वारा लिखित श्री सीता बाललीला पुस्तकमा सीता महात्म्य, सीता प्राकट्य लीला, जन्मोत्सव, शिशु सीता–राम मिलन, सीता– नारद लीला, सीता–सनकादिकलीला, सीता– ब्रह्मालीला, सीता–लक्ष्मीनारायण लीला, सीता–सरस्वतीलीला, सीता–पार्वतीलीला, चन्द्र खिलौना लीला, सर्वव्यापकतालीला, महारास लीला, धनुष उठावन लीला, आँखमिचौनीलीला, कमलालीला, फागु–गेंद क्रीडाएवं विद्यार्जन लीला, दासीपुत्री सखि लीला, प्रेम भक्तिलीलासंगै सीताजीको नाम, सीता–राममधुर मिलन, धनुर्भंग एवं सीता स्वयंबर, राम–परशुरामबाद–विवाद के बीच सीता, बैदेही विवाह, विश्व नाट्य लीला तथा आनन्दलीला गरी कुल २७ अध्याय छन् ।
तीन अनुच्छेदमा सरस्वतीद्वारा सीताजीको बाल स्वरुपको वर्णन, सीताको १०८ नाम तथा सीताको अन्य १२ नामको सूची पनि दिइएको छ । जो पाठक तथा शोधकर्ताहरुका लागि उपयोगी छ । वाल्मीकि र तुलसीदासले रामको चरित्रलाई प्रधानता दिएर रामायण लेखेका छन्, तर जानकी मन्दिरका पुजारी रामसिनेही दास सीता चरित्रलाई प्रधानता दिनु भएको छ । सीता रामभन्दा अधिक व्यावहारिक, तार्किक र सालीन छिन् । अधम्लाई समेत मोक्ष प्रदान गर्ने तर्क गर्छिन् ।
भन्छिन्–‘हे प्रभु कुनै आमा बुबा आफ्ना बाल बच्चाको दोष माथि ध्यान दिन्छन् ? म चाहन्छु कि हजुर जीवको कुकृत्य माथि ध्यान नदिएर उनिहरुमाथि सँधै करुणापूर्ण दृष्टि राख्नु होस् । जानकी चरिता मृतको प्रकाशन सन् १९५७ मा अयोध्याबाट भएको थियो । यसमा कमला, बिगही, दूधमती आदि नदी तथा रत्नसागर, गंगासागर, बिहार कुण्डजस्ता सरोबरहरु एवं राम–सीताले रास रचाएको र फागु खेलेको भनिने कञ्चनवनलगायतका स्थानहरुको वर्णन छ ।
जानकी चरितामृतमा सीतालाई वीराङणा, कोमल हृदया, पापमोचनीको रुपमा चित्रण गरिएको छ । रामको सीताप्रतिको समर्पण तथा प्रेम अनुकरणीय छ । रामलाई प्राप्त गर्न सीतालाई प्रशन्न गर्नु पर्ने रामको प्रष्टोक्ति छ । सीता चरित्रबारे जान्न खोजेका भगवान शिवलाई रामले भनेका छन्– ‘मलाई प्राप्त गर्ने एक मात्र माध्यम किशोरी(सीता) हो । सीता मेरो प्राणभन्दा प्यारी छिन् ।
रामले भगवान शिवलाई सीतालाई प्रशन्न पार्न ६ अक्षरको महामन्त्र पनि दिएका थिए– श्रीं सीता यै स्वाहाः । मिथिला नरेशजनक पुत्रिष्ठी यज्ञको हवन पनि यसै मन्त्रको उच्चारण गरेर गरेको उल्लेख जानकी चरितामृतमा छ । भक्तिका चार भाववा रस मानिन्छ । दास्यवा सेवकभाव, साख्यवा मित्रभाव, वात्सल्य भावतथा सृंगार भाव ।
मिथिलाञ्चलमा भक्तिका चारमध्ये वात्सल्यभावको प्रधानता छ । जानकी मन्दिरका महन्त सीतालाई छोरी र रामलाई ज्वाइँको रुपमा अनुराग गर्छन् । यसको मुख्यकारण वात्सल्यभाव नै हो । जनकपुरधामका मठ–मन्दिरहरुको पूजा पद्धति, भोग–राग, पर्व–उत्सव, भगवानलाई अर्पण गरिने प्रसाद आदिमा जानकी चरितामृतको प्रभाव अझँै देख्न सकिन्छ ।
जानकी मन्दिरमा स्थापित राम, लक्ष्मण, भरत, शत्रुघ्नलाई अझँै पनि विहानको खाजाको रुपमा च्युरा, दही, गुँड, अचार, चटनी अर्पण गरिन्छ । बिगही, कमला, बिमला आदि नदीहरुलाई सीताको सहेलीको रुपमा पूजा गरिन्छ । सीतालाई दूध खुवाउने गाईको दूधबाट बनेको भनिएको दूधमती नदीमा जानकी नवमीको दिन विशेष स्नान गर्ने चलन छ । तर जनकपुरधामबारे फरक तर मौलिक भाष्य बनाएको जानकी चरितामृतबारे जनकपुरधामका साधु समाज अनभिज्ञ छन् ।
धार्मिक तथा सांस्कृतिक पर्व–त्यौहारहरुलाई पनि उत्सव र महोत्सवको रुपमा मनाउने जानकी मन्दिरका हर्ता–कर्ताहरुले जानकी मन्दिरकै आदि महन्त सूरकिशोर दासद्वारा लिखित मिथिला विलाश र जानकी मन्दिरकै पुजारीद्वारा लिखित जानकी चरितामृत जस्ता अनमोल ग्रन्थहरुको प्रकाशन गर्न नसक्नु दुःखद हो ।