२०८२ बैशाख २१, आईतवार ०६:३६

मधेश प्रदेश स्थित स्थानीय निकायमा कतिसम्म बेथिति बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ । जिल्लाको सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौँको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरिएको घटना सार्वजनिक भएको छ ।

यसअघी मेयरको स्वार्थ पुरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए । कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको हो । गत १६ गते आदर्श कोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल उनकै निजी निवासमा मेयर कलवारले बोलाएर दुव्यबार गरेको अधिकृत जयसवालले बताए ।

मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुःखेसो पोखेका छन् । कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् ।

नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् । यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाई शिर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए । त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहाँसिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिओम जैसवालले बताएका छन् ।

गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए । मेयरसंग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएको थियो । मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट् याइएको छ भने कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताए ।

सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छन् । मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारी लाई आफ्नो घरायसी नोकरको जस्तो व्यवहार गर्ने गरेको बताइन् । मेलाको लागि छुट्याइएको भन्दाबढी रकम प्रशासकिय अधिकृतले कसरी र कहाँबाट दिन्छ ।

सरसफाइमा नेपाल प्रहरी सशस्त्र प्रहरीलाई र केही अतिथिलाई पानी खुवाउन १९ लाख कसरी खर्च भयो उनको भनाइ छ भने जस्तै कानुन विपरीत भुक्तानी नदिएकै कारण मेयर र उनको समर्थकले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको उपमेयर सेहरले दाबी गरिन् । कुटपिट पछि अधिकृत जैसवाल भाग्छ र मेयर कलवारले आफ्नो पाकेटका एकजना अधिकृत ल्याएर करोडौँ कुम्ल्याउने दाउमा रहेको उनले बताइन् ।

यसरी मेयर र उनका समर्थकले कुरा नमान्दा एकमहिना अघि योजना प्रमुखलाई समेत हातपात गरेको उपमेयर नजमु सेहरले बताइन् । मेयरका छोरा र उनको समर्थक योजना प्रमुख नन्दकिशोर साहसंग जथाभावी कार्यादेश मागेको र नदिएपछि अफिसको एकथान कम्प्युटर तोडफोड गर्नुका साथै कुटपिट गरेको उनले जानकारी दिएकी छन् ।

अधिकृत कलवारलाई कुटपिट गरी मेयर कलवार अर्को अधिकृत ल्याउन मन्त्रालय गएका छन् । तर अब बजेट कार्यान्वयन गर्न दुई महिना मात्र समय बाँकी छ । मेयरले नयाँ प्रमुख प्रशासकिय अधिकृत ल्याउँछ भने उनलाई नगरको गतिविधि बुझ्नै एक महिना लाग्छ यस्तोमा सबै रकम फ्रिज हुनुको विकल्प नभएको उपमेयर सेहरको भनाइ रहेको छ ।

केही दिन अघि जिल्ला समन्वय समितिका सभापतिको रोहवरमा असार मसान्तसम्म नगरको प्रमुख प्रशासकिय अधिकृतमा हरिओम जैसवाललाई रहनेछन् भने साउन महिनामा अर्को अधिकृत ल्याउने छलफल भएको थियो । तर जैसवालले भ्रष्टाचार गर्न जथाभावी भुक्तानी नदिएको कारण मेयरले मनपरी गरिरहेको उपमेयर सहरले खुलासा गरेकी छन् ।

नगर कार्यपालिका बोर्डमा रहेका २१ जना मध्ये २० जना आफूसँग भएपनी मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने मेयर कलवारविरुद्ध कडा कारबाहीको माग गर्दै नगरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । मेयर किशोरी प्रसाद कलवारसंग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । सिम्रौनगढ नगरपालिकाको घटनाले स्थानीय निकायको बेथितिबारे पूर्ण रुपमा उजागर गरेको छ ।

Comment


Related News

Latest News

Trending News