
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुकदेव यादवले मनोमानी ढंगले नगरपालिकाको कामकाज सञ्चालन गरेको आरोप उपमेयर रचना श्रेष्ठ माथेमाले लगाएकी छन् । महेन्द्रनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उपमेयर श्रेष्ठले असार मसान्त सकिन करिब दुई महिना रहे पनि विकास कार्यलाई तीव्ररुपमा एकलौटी ढंगले विधिविधानलाई बेवास्ता गर्दै मनोमानी गरेको आरोप लगाइन् ।
मेयर यादवले पालिकाको काममा आफूलाई सोधपूछ नगरेको उपमेयर रचना श्रेष्ठ माथेमाले आरोप लगाइन् । मेयर यादवले प्रमुख प्रशासकीय अधिकृत राम उदगार अधिकारी र लेखा अधिकृत प्रमोद घिमिरेसंग मिलेर पालिकाको काम मात्र गर्ने गरेको उनको आरोप छ । ‘मेयरकै कारण क्षीरेश्वरनाथ नगरपालिकाको कामकाज ठप्प छ । बेथिति बढेको छ,’ उपपमेयर माथेमाले भनिन्, ‘असार सकिन २ महिना मात्र बाँकी छ । तर नगर प्रमुखको कारण काम अगाडि बढ्न सकेको छैन ।’ उनले पालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्नेमा त्यसभन्दा मुनिका कर्मचारीलाई प्रशासकीय अधिकृत बनाएर राखेकोमा पनि आपत्ति जनाइन् ।
विकास निर्माणको कामकाज गर्न गठन गरिने उपभोक्ता समितिको बैठकमा मेयरलाई अनिवार्य उपस्थित गराउनुपर्ने परिपत्र नै गरिएको भन्दै उपमेयर माथेमाले वडा–वडामा गठन हुनुपर्ने उपभोक्ता समिति मेयर यादवले एकैथलोमा गरेर प्रक्रिया मिचेको बताइन् । उनले भनिन्, ‘उपभोक्ता समितिबाट गरिने काम नगर प्रमुखनिकट वडाध्यक्षलाई मात्र दिइएको छ,’ उनले अघि थप्दैँ भनिन्, ‘हामीलाई माइनस गरेर मेयरले काम गरिरहनु भएको छ । नगरपालिकालाई उहाँले अप्ठ्यारो अवस्थामा पु¥याउनु भएको छ ।’
क्षीरेश्वरनाथ नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पँजियारले धनुषाको क्षीरेश्वरनाथ, नगराइन र लक्ष्मीनिया पालिकामा देखिएको समस्या समाधानका लागि कांग्रेस–एमालेबीच बनेको राजनीति संयन्त्रणमा छलफल भएको जानकारी दिए । उनले क्षीरेश्वरनाथ नगरपालिकामा एमालेका मेयर भएकाले जानीजानी कांग्रेसका जनप्रतिनीधिलाई छेउ लगाउने काम गरेको बताए ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–४ का अध्यक्ष जगदीश यादवले चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पनि मेयरले योजनाको रातो किताब वडाहरुमा अहिलेसम्म पनि नपठाएको बताए । उनले भने, ‘हाम्रा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देशमै उदाहरणीय छन् । उनी कार्यालयमा कहिल्यै देखा पर्दैनन्,’ वडाध्यक्ष यादवले भने, ‘चेकमा सही गर्नुपर्ने छ भने मात्र उनी कार्यालय आउँछन् । नभए अन्य समय मोबाइल स्वीचअफ गरेर अन्तै बस्ने गर्छन् ।’ यता मेयर यादवले आफू एमाले धनुषाको जिल्ला अधिवेशनमा व्यस्त रहेकाले यससम्बन्धमा पछि प्रतिक्रिया दिने बताए ।