२०८२ बैशाख २२, सोमबार ०८:०९

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले रौतहटलगायत मधेश प्रदेशका विभिन्न जिल्लामा चुरे क्षेत्रको विनाश, अवैध उत्खनन, काठ तस्करी र अतिक्रमणबारे गम्भीर आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरेको छ ।

अभियानले आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहको संलग्नतामा व्यापक अव्यवस्थाका घटनाहरू घटेको दाबी गरेको छ । ज्ञापनपत्रमा भनिएको छ कि काठको निलामीदेखि तस्करीसम्म, ढुंगा गिट्टी बालुवाको चोरी निकासी र वन अतिक्रमणसम्ममा साहसहित केही वन कर्मचारीहरूको प्रत्यक्ष संलग्नता देखिएको छ । साथै अभियानले मधेश प्रदेशका वनमन्त्री त्रिभुवन साह र वनसचिव उद्धव घिमिरेको भूमिका पनि संदेहास्पद रहेको उल्लेख गर्दै उनीहरू विरुद्ध कडा कारबाहीको माग गरेको छ ।

गैंडाटार क्षेत्रमा फडानी गरिएको वनमा जोतिएको जग्गा, मकै छरिएको भाग, ढालिएका रुखहरू र घर निर्माणको काम भइरहेकाले उक्त अतिक्रमण योजनाबद्ध र दीर्घकालीन भएको अभियन्ताहरूको ठम्याइ छ । अभियानका अनुसार सो क्षेत्रमा महिनौंदेखि अतिक्रमण हुँदै आएको तथ्य पनि पुष्टि भएको छ । अभियानका राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवको नेतृत्वमा वैशाख १२ गते चन्द्रपुर नगरपालिका वडा नम्बर–३ गैंडाटारस्थित भोर्लेनी सामुदायिक वनको निरीक्षण गरिएको थियो, जहाँ पाँच विघाभन्दा बढी वन क्षेत्र फडानी भएको दृश्य भेटिएको थियो ।

ज्ञापनपत्रमार्फत अभियानले तीनवटा मुख्य मागहरू अघि सारेको छ,जसअनुसार डिभिजन वन प्रमुख हेमन्त साहलाई प्रदेशमा झिकाएर उनले आर्थिक वर्ष २०८१–८२ मा गरेका सम्पूर्ण कामको स्पष्टिकरण लिनु र गैंडाटार वन फडानीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने,वनमन्त्री त्रिभुवन साहले चुरे संरक्षणमा विफल भएको भन्दै राजीनामा दिनुपर्ने र वनसचिव उद्धव घिमिरेलाई प्रदेशबाट हटाइनुपर्ने र चुरे क्षेत्र, खोला नाला, वनजंगलको अवैध उत्खनन र अतिक्रमण तत्काल रोक्नुपर्ने माग गरिएको छ

चुरे संरक्षण अभियानले विगतदेखि नै यस क्षेत्रको रक्षा तथा भूमिहीनका लागि भूमि अधिकारको माग गर्दै थुप्रै पटक आन्दोलन, अनशन, र काठमाडौंसम्मको पैदल यात्रा गर्दै आएको छ । हाल देखिएको अतिक्रमण, भ्रष्टाचार र चुरे विनाशविरुद्ध अब निर्णायक दबाब सिर्जना गर्ने चेतावनी अभियानले दिएको छ ।

Comment


Related News

Latest News

Trending News