नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशनअन्तर्गतको बन्दसत्रबाट सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । घनिभूत रुपमा भएको गुटबन्दीको धु्रवीकरणका कारण अध्यक्षका आकांक्षी उम्मेदवारहरु ब्याक भए पनि शीर्षनेतृत्वबीच सहमतिको कुरा नमिल्दा निर्वाचन मंगलबार विहानदेखि हुने भएको नेकपा एमाले धनुषाको निर्वाचन समितिले जनाएको छ ।
उद्घाटनसत्र सम्पन्न भएसंगै अनेक गुटमा विभाजन रहेका एमाले धनुषा जिल्लाको गुटबन्दीको ध्रुवीकरण तीव्ररुपमा बदलिए पनि सहमति भने हुन सकेन । सहमितका लागि एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ उनकी पत्नीसमेत रहेकी नेतृ जिल्ला इन्चार्ज जुलीकुमारी महतोसमेतले पहलकदमी लिँदा पनि सहमतिको विन्दुमा पुग्न नसकेपछि सोमबार दिउँसो निर्वाचनका लागि एक दिन थपिएको छ ।
तीन दिवसीय रहेको जिल्ला अधिवेशनको क्रममा विभिन्न पक्षबीच सहमति भए पनि महासेठ–महतो समूह र उमाशंकर अरगरीया–बबिता यादव पक्षबीच सामञ्जस्य र सहमतिको वातावरण बन्न नसकेपछि निर्वाचनका लागि एक दिन बढाइएको छ । जस अनुसार मंगलबार विहान साढे सात बजेदेखि निर्वाचन हुने केन्द्रीय सदस्य शम्भु साहले जानकारी दिए ।
यसअघि अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, लक्ष्मीनारायण यादव र सन्तोष यादव आकांक्षी देखिएका थिए । तर तीन दिनसम्म चलेको सहमतिको कुरा नमिल्दा महासेठ–महतो समूहको तर्फबाट अध्यक्ष पदमा भोला यादव र अरगरीया–यादव समूहको तर्फबाट लक्ष्मीनारायण यादव अध्यक्ष पदका आकांक्षी छन् ।
प्रस्टरुपमा दुई खेमामा विभाजित भएपछि निर्वाचनमा होमिएका महासेठ–महतो समूहको तर्फबाट आकांक्षी उम्मेदवारमध्ये अध्यक्षमा भोला यादव, उपाध्यक्ष पदमा तेजनारायण यादव, सचिव पदमा दीपनारायण ठाकुर दीपन, उपसचिव पदमा सविन विक्रम थापा, उपसचिव महिला कोटा पदमा रुका कुमारी मिश्र रहेकी छन् ।
त्यस्तै अरगरीया–यादव समूहको तर्फबाट अध्यक्ष पदका आकांक्षी लक्ष्मीनारायण यादव, उपाध्यक्ष पदका आकांक्षी जयप्रकाश सोनरैत, सचिव पदका आकांक्षी धीरेन्द्रकुमार मण्डल, उपसचिवका आकांक्षी सुरेश ठाकुर, उपसचिव महिला कोटामा आकांक्षी उम्मेदवार किरण कापर रहेकी छन् । यससंगै उपसचिव पदमै सोही समूहबाट हरिकिशोर यादव र महिला उपाध्यक्ष पदका आकांक्षी शारदा घिसिंग पनि रहेकी छन् ।
यस अघि सहमतिका लागि दुई समूहबीच अध्यक्ष र सचिवमा अडान नछाड्दा सर्वसम्मतको प्रयास असफल भएको जनाइएको छ । दुई पक्षबीच अध्यक्ष पदभन्दा पनि सचिवको बार्गेनिंगमा महासेठले सचिव पद छाड्न नमानेपछि अरगरीया समूहले अध्यक्ष, सचिवसहित सम्पूर्ण प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।
सचिव महासेठ र नेतृ महतो समूह यस निर्वाचनमा हाबी भएको देखिए पनि अध्यक्ष र सचिव बाहेकका पदमा भने सो समूहलाई भारी पर्ने नेता तथा कार्यकर्ताहरुको भनाइ छ । सो समूहमै रहेका केही असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले अध्यक्ष पदमा महासेठ समूहको तर्फबाट भोला यादवको प्रवल सम्भावना रहे पनि अन्य पदमा भने उनलाई भारी पर्न सक्ने टिप्पणी गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार तीन दिनसम्म चलेको अधिवेशनको बन्द सत्रको क्रममा महासेठ समूहले कांग्रेस त्यागेर एमाले प्रवेश गरेका सन्तोष यादवलाई अध्यक्ष पदमा अघि सारे पनि अन्तिम समयमा आएर महासेठले सन्तोष यादवलाई अस्वीकार गरे पछि नयाँ समीकरण बनेको छ । सन्तोष यादवलाई महासेठले अर्को समूहबाट समेत समर्थन लिएर आएमा आफूले अध्यक्ष पदमा सर्वसम्मत रुपमै प्रस्ताव गर्ने प्रतिवद्धता गरेका थिए । तर सन्तोष यादवले अरगरीया समूहको समर्थन आफूलाई रहेको दाबी गर्दै महासेठलाई सुनाए पछि उनले यादवलाई आफ्नो पक्षको मान्छे नभएको घोषणा गरेका थिए । जसले गर्दा यादव अध्यक्षीय चुनावी रेसबाट नै टाढिन बाध्य भएको स्रोतको दाबी छ ।
सातौँ जिल्ला अधिवेशनको क्रममा नेतृत्व चयनमा उग्रविवाद देखिए पनि अन्तिमसमयमा केन्द्रीय तहकै निर्देशनानुसार सर्वसम्मत रुपमा राजकिशोर यादवलाई अध्यक्षमा चयन गर्दै विवादलाई टारेका थिए । तर यसपटक भने विगतभन्दा फरक अवस्था देखिन पुगेको छ । अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी भएका छन् । उनीहरुले मंगलबार हुने निर्वाचनमा मतदान गर्न पाउने छन् । यस अधिवेशनले अध्यक्षलगायत पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ ।


