२०८२ बैशाख २३, मंगलवार ०७:१९

जनमत पार्टी धनुषाका अध्यक्ष सुरेन्द्र मण्डलले आफूले श्रीमतीमाथि कुटपिट गरेको आरोप निराधार भएको बताएका छन् ।  सामाजिक सञ्जालमा श्रीमती मञ्जु मण्डलमाथिको कुटपिटसम्बन्धी भिडियो तथा विवरणहरू भाइरल भइरहेका बेला धनुषा जिल्ला अध्यक्ष मण्डलले ती सबै आरोपहरू आधारहीन र पूर्वनियोजित भएको बताए ।

अध्यक्ष मण्डलले आफ्नो श्रीमती मञ्जु मण्डलसँग विगत ९ महिनादेखि सम्बन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो अब अन्तिम चरणमा पुगेको बताए । उनले दिएको जानकारी आइतबार राति करिब ८ बजे, तीन वटा स्कुटरमा आएका उनी सहित ६ जना महिला र अन्य करिब १५ जनाको समूहले जनकपुरधामको बेला कुटीस्थित उनको घरमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए ।

घटना भएपछि जिरो माइल प्रहरी चौकीका असई आरके यादवको कमाण्डमा प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिएको उनको भनाइ छ । मञ्जुले देखाएको चोट र कुटपिटको आरोपबारे सुरेन्द्र मण्डलले आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । “मलाई थाहा भएको अनुसार उनी सिरहाबाट आर १५ मोटरसाइकलमा आउँदै गर्दा दुर्घटनामा परेकी हुन्,” उनले भने, “त्यसबाट लागेको चोटलाई अब ममाथि कुटपिटको आरोप लगाउनु निहित स्वार्थप्रेरित हो ।” उनले आफूमाथिको आरोप झूटो प्रमाणित गर्नका लागि घरको सीसी टिभी फुटेज सार्वजनिक गर्ने तयारीमा रहेको बताए । तर उनकी श्रीमती मञ्जुले भने आफूमाथि कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा श्रीमान सुरेन्द्रमाथि आरोप लगाएकी छन् ।

Comment


Related News

Latest News

Trending News