
नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट हुँदा मतदान प्रक्रिया रोकिएको छ। अधिवेशनस्थलमै कुर्सी तोडफोड र मतपत्र च्यात्ने घटनासमेत भएका छन्।
विवादको कारण विधानविपरीत उम्मेदवारी परेको भन्दै उठेको असन्तोष हो। अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले उपसचिवकी उम्मेदवार रुका कुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको उम्मेदवारी पार्टी विधान विपरीत भएको दाबी गरेका छन्। उनले निर्वाचन समितिमाथि निष्पक्षता नदेखाएको आरोप पनि लगाए।
अधिवेशनमा रघुवीर महासेठ पक्षले भोला यादवलाई अध्यक्षमा अघि सारेका छन् भने यादव, मण्डल, अरगरिया र झासहितको समूहबाट लक्ष्मीनारायण यादव अध्यक्ष पदमा छन्। दुबै पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्।
मंगलबार बिहान ८ बजेदेखि मतदान हुने तालिका थियो तर विवादका कारण स्थगित भएको छ। महासेठ पक्षधरले निष्पक्ष निर्वाचन र मतपत्र च्यात्नेलाई कारबाही गर्न माग गरेका छन्। सो क्रममा वर्तमान अध्यक्ष राजकिशोर यादवलाई लखेटिएको थियो।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ। तर कुटाकुट र विवादका कारण निर्वाचन अन्योलमा परेको छ।