२०८२ बैशाख २४, बुधबार ०७:००

लामो समयदेखि गुटगत धु्रवीकरणले ७७ वटै जिल्लामध्ये धनुषा जिल्लामा अधिवेशन अनिश्चित रहेको अवस्थामा हुन लागेको निर्वाचन पनि प्रभावित भएको छ । करिब एक वर्षदेखि अन्योलतामै रहेको जिल्ला अधिवेशन हुन लाग्दा पनि दुई पक्षबीच भएको आरोपप्रत्यारोपकै कारण निर्वाचन प्रक्रिया लम्बिदै गएको छ । नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियाको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररुप लिँदा पटक पटक झडप भएको छ ।

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच भएको झडपमा एकअर्कालाई रडसमेत प्रहार गरी भएको कुटाकुटको क्रममा चारसहित तीनजनाको टाउको फुटेर घाइते भएका छन् । रड प्रहारले घाइते हुनेहरुमध्ये निवर्तमान धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव घाइते छन् भने राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको धनुषा प्रहरीले जनाएको छ । अन्य कैयौं कार्यकर्तालाई भने सामान्य चोट लागेको छ ।

अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भए पनि अवस्था तनावग्रस्त थियो । सर्वसम्मत रुपमा अविधेशन सम्पन्न नभएपछि निर्वाचन प्रक्रियामा जाने निश्चित भएसंगै मतदाता नामावलीमा विवाद सृजना भएपछि आक्रोशित दुबै समूहका कार्यकर्ताबीच कुटाकुट भएको थियो । विधान विपरीत परेको उम्मेदवारी खारेज गरेर शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडि बढाउनुपर्ने अरगरिया पक्षको अडान थियो । तर रघुवीर समूहले उम्मेदवारी खारेज गराउन नहुने भन्दै तोडफोडमा उत्रेपछि झडप भएको अधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय धनुषास्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा शुरुमा कुटाकुट भएको थियो । कुटाकुटपछि अरगरिया समूह सभाहलमै अनसन भन्दै धर्नामा बसेका थिए भने अर्कोतर्फ रघुवीर समूहका कार्यकर्ताहरु सडक बाहिर प्रदर्शन गरिरहेका थिए । कुटाकुटपछि दुबै पक्षका नेताहरु छलफलमा बसेका बेला पनि झडप भएको अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

आइतबारदेखि शुरु भएको तीन दिवसीय आठौं जिल्ला अधिवेशनको बन्दसत्रबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन गराउन नसकेपछि निर्वाचन प्रक्रियामा जाने र सोमबार विहान साढे सात बजेदेखि निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको थियो । थप एक दिन लम्ब्याएर हुने निर्वाचन नै नभइ शुरुमै फर्जी मतदाता र फर्जी उम्मेदवारीको विषयलाई लिएर दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो । तर विवाद सुल्झिनुको साटो उग्ररुप लिएपछि निर्वाचन प्रक्रिया थप एक दिन सरेको छ ।

मंगलबारदिनभर नै एमालेका दुबै पक्ष बीचको कार्यकर्ताहरु एकअर्कालाई लखेट्ने र कुटाकुट भएको थियो भने प्रहरीलाई अवस्था नियन्त्रणमा लिनका लागि हम्मेहम्मे परेको थियो । निर्वाचन प्रक्रिया थप एक दिन लम्बिए पछि अधिवेशन स्थल सुनसान थियो । अधिवेशनबाट नेतृत्व चयनको प्रक्रियामा दुई पक्षबीचको शक्ति प्रदर्शन हिंसात्मक रूप लिँदा कुर्सी हानाहानदेखि निर्वाचन समितिको कार्यकक्षमा तोडफोड र गालीगलौजसम्मका घटना भएको थियो ।

एमाले लक्ष्मीनिया गाउँपालिका अध्यक्ष दिनेश यादवले सहमतिमा नेतृत्व चयन सम्भव नभएपछि सोमबार निर्वाचन प्रक्रियामा जाने सहमति भएको जानकारी दिए । सोमबार राति नै निर्वाचन समितिले मतदाता र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो । शुरुमा महासेठको गुटमा रहेको राजकिशोर यादवलाई अध्यक्ष पदको उम्मेदवार नबनाएपछि रुष्ट छन् । उनीसंग महासेठको कुराकानीको क्रममा असन्तुष्टि पोखेपछि उनलाई खेमा परिवर्तन गरेको आरोप लगाएपछि उनको पक्षमा अरगरियाले बोलेका थिए । त्यसपछि विवादले उग्ररुपमा लिएको एमालेका कार्यकर्ताहरु बताउँछन् । सोक्रममा निर्वाचन अधिकृत विजय सुब्बामाथि गालीगलौज गर्नुका साथै कार्यकक्षमा रहेका कम्प्युटर, लैपटपलगायतका उपकरणहरुसमेत तोडफोड गरेका छन् ।

सोमबारसम्म अध्यक्ष पदका लागि पाँचजना आकांक्षी थिए । तर गुटबन्दीको व्यापक फेरबदल र कित्ताकाटले अन्ततः अध्यक्ष पदमा दुईजना उम्मेदवार देखिए । भोला यादव (महासेठ गुट) र लक्ष्मीनारायण यादव (अरगरिया गुट)ले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रियामा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको भूमिका स्पष्ट नभएको भन्दै उनीविरुद्ध नाराबाजी भएको थियो । श्रेष्ठले निष्पक्षता देखाउन नसकेको भन्दै एमालेका एक प्रतिनिधिले आरोप लगाए ।

विवादका कारण मंगलबार पनि मतदान प्रक्रिया अगाडि बढ्न सकेन । अध्यक्ष बाहेक उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव, सचिवमा दीप नारायण ठाकुर (दिपन) र धीरेन्द्र कुमार मण्डल, उपसचिवमा विक्रम थापा, सुरेश ठाकुर र हरिकिशोर यादव तथा महिलातर्फ उपसचिवमा किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ उम्मेदवार रहेकी छन् । धनुषामा एक वर्षदेखि विवादकै कारण अधिवेशन हुन नसकिरहेको बेला भएको जिल्ला अधिवेशन विवादरहित रहेन । यद्यपि निर्वाचन प्रक्रियमबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News