
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका आफन्तलाई ज्वाइँ रमेश मण्डलको उपद्रवले गाउँ छाड्न बाध्यात्मक अवस्था सृजना भएको आरोप लगाइएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–३ का मैथिली गायकसमेत रहेका सभामुखका आफन्त रोशन मण्डललाई सभामुख मण्डलका ज्वाइँ रमेश मण्डलले स्थानीय प्रहरी चौकीमै हातपातदेखि हुलहुज्जत गरेको आरोप लगाएका छन् ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गर्दै गायक रोशन मण्डलले प्रहरीबाट न्याय नपाएपछि आफूले सञ्चारमाध्यमकै सहारा लिनुपरेको बताए । उनले सभामुखका सचिवालयमा समेत रहेका ज्वाइँ रमेश मण्डल, उनका पिता सीयाशरण मण्डल र आफन्तजनले लामो समयदेखि मानसिक शारीरिक यातना दिँदै आएका गुनासो गरे ।
गायक मण्डलकी श्रीमती मिलन देवी मण्डलले घरमा कोही नरहेको बेला लुकिछिपी घर अगाडि आँगनमा फोहोर मैलाहरु थुपार्ने र आफूहरुले सोबारे सोधखोज गर्दा सभामुखका ज्वाइँ रमेशले गालीगलौँज गर्दै कुटपिट गर्ने गरेको बताइन् ।