माता जानकीको प्राकट्य दिवस विभिन्न कार्यक्रमहरुको आयोजन गरी सम्पन्न भएको छ ।
सो क्रममा जानकी नवमीको अवसरमा मंगलबार दूधमती नदीमा हजारौँ भक्तजन र साधु–सन्तहरूले शाही स्नान गरेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासको अगुवाइमा साधु–सन्तहरूको टोली बिहानै दूधमती नदीमा शाही स्नान गरेका थिए ।
दुधमती सरोकार समितिका अध्यक्ष सुदीप मण्डलले श्रद्धालु भक्तजनहरुलाई स्वागत गर्दै शाही स्नानका लागि व्यवस्थापन गरिएको जानकारी दिए । किंवदन्ती अनुसार त्रेतायुगमा कामधेनु गाईले माता सीतालाई दूध खुवाउनका लागि पृथ्वीमा दूधको धारा बगाएपछि यस नदीको उत्पत्ति भएको धार्मिक विश्वास रहेको छ ।
यस वर्षको जानकी नवमीको अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको थियो । जानकी मन्दिरमा विशेष पूजाआजा, दीपावली, आरती, डोला शोभायात्रा र बधैयागानजस्ता कार्यक्रमहरू आयोजन गरिएको थियो ।


