
राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन्। आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेनालगायतको साथ रहेको संयोजक सुवेदीले पत्रकार सम्मेलनमा बताए।

सुवेदीले ‘जनआन्दोलन’ घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टलगायत उपस्थित थिए।
यसअघि सुवेदी नेतृत्वमा समिति गठन गर्दा लिङ्देन, थापा र विष्टले उक्त समितिमा आफू नरहने बताएका थिए। तर आजको कार्यक्रममा उनीहरू उपस्थित भए भने सुवेदीले जेठ १५ देखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने घोषणा गर्दा उनीहरू उठेर ताली बजाएका थिए।
सुवेदीले जनआन्दोलनको बलमा उन्नत र प्रजातान्त्रिक प्रणाली स्थापित गरिने पनि दाबी गरेका छन्। संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, सुशासन र भ्रष्टाचार अन्त्य आफूहरूको लक्ष्य रहेको सुवेदीले बताए।
साथै उनले केन्द्र र स्थानीय तहमा सरकार, बलियो स्थानीय तह बनाउने एजेन्डासमेत पेस गरेका छन्।
‘राजनीतिक दलहरूले चाहने हो भने सहमति र सहकार्यका आधारमा वर्तमान संविधानबाटै यो हासिल हुन्छ,’ उनले भने, ‘व्यापक जनदवाव सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चिलकालीन जनआन्दोलन गर्छौं।’
गणतन्त्र दिवसदेखि नै उनीहरूले आन्दोलन गर्न लागेका हुन्। २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो।
संयोजक सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने बताए। कुनै दल वा सरकारविरूद्धभन्दा पनि सर्वसत्तावाद अन्त्य गर्न आन्दोलन गर्न लागेको सुवेदीले बताएका छन्।
यसअघि गत चैत १५ गते संयुक्त जनआन्दोलन समितिले तोकेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालयहरू र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।