जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा धु्रवीकृत हुँदै गएको बताएका छन् ।
जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए । उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशिता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मूल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशितालाई पचाउन नसकेको जिकिर गरे ।
पछिल्लो समयमा पश्चगामी शक्तिहरु समेत टाउको उठाउन थालेको भन्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशिता र नागरिक स्वतन्त्रताको पक्षमा चट्टानी अडानका साथ जसपालाई उभिनु पर्ने अवस्था आएको बताए । राजनीतिक खिचातानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भए पनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको बताए ।
अग्रगामी शक्तिहरु कमजोर हुँदा यथास्थितिवादी र पश्चगामी शक्तिहरु प्राप्त उपलब्धिलाई संकटमा पार्ने दुस्साहस गर्न थालेको भन्दै उनले त्यस्तो दुष्प्रयासलाई आफूहरु परास्त गर्ने बताए । सो अधिवेशनका लागि जिल्लाभरबाट करिब ३ सय २५ जना प्रतिनिधि छनोट भएका छन ।


