अनलाइन ठगीमा संलग्न रहेको भन्दै धनुषा प्रहरीले सात जना युवालाई पक्राउ गरेको जनाएको छ । जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनको गरी अनलाइन ठगीमा संलग्न रहेका भन्दै सातजनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ का २३ वर्षीय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका वडा नं २ का २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका वडा नं १ का २० वर्षीय राम कुमार महरा रहेका छन् । त्यस्तै महोत्तरीको गौशाला नगरपालिका वडा नं २ का १९ वर्षीय अमित साह, गौशाला नगरपालिका वडा नं १ का २१ वर्षीय सुधिर कुमार महतो, सोही वडाका २२ वर्षीय रोशन साह र सर्लाही वरहथवा नगरपालिका वडा नं ७ का २२ वर्षीय नितेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
सर्वसाधारणलाई अनलाइनबाट मोवाइल, कपडा लगायतका सरसामानहरु सस्तोमा दिने भन्दै इष्टाग्राम, टिकटक, फेसबुक, ह्वाटस्याप जस्ता सामाजिक सञ्जालमा विज्ञापन दिइ सर्वसाधारणलाई विश्वासमा लिएर विभिन्न खाताहरुमा रकम जम्मा गराउने गरेको थियो । तर सामानहरु नदिने गरेको गुनासो आएपछि धनुषा प्रहरीले अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुले २१ वटा सामाजिक सञ्जालमा फेक पेजहरुको बनाएर विज्ञापन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको धनुषा प्रहरी जनाएको छ । उनीहरुको साथबाट विभिन्न कम्पनीका १० थान मोवाइल फेला परेको छ भने सामानहरुका लागि अग्रीम भुक्तानी लिने गरेको, विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारेर खाता खोल्न लगाउनुका साथै मोबाइल बैंकिङ समेत खोल्न लगाइ त्यसमा रकम मगाएर सामाजिक सञ्जाल बन्द गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।
उनीहरुले विभिन्न व्यक्तिको नागरिकता, पान नम्बर, व्यक्तिको नाम तथा फोटो किर्ते गरि सर्वसाधारणहरुलाई सामाजिक सञ्जालमार्फत विश्वासमा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । अनलाइन ठगी आरोपमा पक्राउ परेकाहरुको मोवाइलवाट विभिन्न बैंक तथा वित्तिय संस्था तथा वालेट आइडी समेत गरी १८७ वटा खाताहरुको विवरण फेला परेको र उक्त खाताबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रुपैयाँ ८ पेसाको कारोवार भएको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातै जनामाथि ठगी अन्तर्गत मुद्दा चलाइ धनुषा जिल्ला अदालतबाट म्याद थप भइ कारबाही प्रक्रिया अघि बढाइएको छ ।


