२०८२ बैशाख २६, शुक्रबार ०७:५५

जनकपुरधाममा शुक्रबारदेखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ ।

शुक्रबार शुरु भएर जेठ २ गतेसम्म चल्ने मेयर कपको सम्पूर्ण तयारी पूरा भएको जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ । जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रंगशालामा हुने तेस्रो मेयर कपको आयोजना जनकपुरधाम उपमहानगरपालिकाले गर्न लागेको छ । मेयर कपको विषयमा रंगशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका अतिरिक्त भारतको ४ वटा टिम गरेर कूल १२ टिम सहभागिता हुने आयोजकले जनाएको छ ।

नेपाल क्रिकेट संघले सहयोग गरेको तेस्रो मेयर कपमा भारतको दिल्ली, बिहारको मुजफ्फरपुर, पुरनीया तथा उत्तर प्रदेशका लखनउका टिमको सहभागिता रहने भएको नेपाल क्रिकेट संघ धनुषाका सचिव आशिष झाले बताए । नेपालको जिल्लाको क्रिकेटको स्तर बढाउनका लागि भारतका टिमको सहभागिता गराउन लागेको र यसले यस क्षेत्रका खेलाडीको क्षमता विकासमा मद्दत पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज कुमार मिश्रले बताए ।

क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख नगद र ट्रफि, उपविजेतालाई १ लाख २५ हजार, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको पाँच हजारको गिफ्टका साथै तीन हजार नगद र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । सो प्रतियोगितामा वेष्ट व्याट्स म्यान, वेष्ट बल, म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने छ ।

आयोजक संस्था जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाममा क्रिकेटको वातावरण निर्माण गर्नका लागि आफू मेयर भएकै साल देखि प्रत्येक वर्ष वार्षिक कार्यक्रममा नै बजेटको व्यवस्थापन गरेर क्रिकेट खेलको आयोजना गरिएको बताए । यूवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलको उद्घाटन गर्ने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News