
सत्ता बाहिर रहेको जनता समाजवादी पार्टी (जसपा)नेपालको धनुषा जिल्ला नेतृत्वका लागि शनिवार मतदान हुने भएको छ ।
जसपा नेपालले राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको वर्ष दिन भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्न लागेको छ । जिल्ला अधिवेशनको विहीवार उद्घाटन समारोह सम्पन्न भएपछि शुक्रवार बन्द सत्र सम्पन्न भएको जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन् ।
एमालेले धनुषा जिल्ला नेतृत्व चयन गर्न गत मंगलवार कुटाकुट गरेको महेन्द्रनारायण निधि स्मृति भवनमा जसपा नेपालको चुनावी प्रकृया सुरु भएको छ । जिल्लाको ७ पदाधिकारी र ५० जना सदस्य समेत ५७ पदका लागि शुक्रवार उम्मेदवारी दर्ता गरिएको छ ।निर्वाचन समितिका संयोजक रामअशिष यादवले जनाए अनुसार शनिवार दिउँसो ३ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ । उनले जनाए अनुसार अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव २ र कोषाध्यक्ष १ गरी ७ जना पदाधिकारीमा र २५ जना खुल्ला र २५ जना आरक्षितगरी ५० जना सदस्य पदका लागि उम्मदेवारी परेको छ ।
‘पार्टीको विभिन्न पदहरुमा उम्मेदवारी दिएका नेताहरुबीच सहमतिको प्रयासपनि भइरहेको छ ’ उनले भने, उम्मेदवारहरुबीच सहमति हुन नसके मतदानबाट नेतृत्व चयन हुनेछ । यादवको संयोजकत्वमा महाजन यादव, चन्देश्वर सदा, सीता यादव र प्रेमचन्द्र झा सदस्य रहेको निर्वाचन समितिले काम सुरु गरिसकेको छ ।राति उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । अध्यक्ष पदमा ५ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
वर्तमान अध्यक्ष पशुपति यादव, गत चुनावमा प्रतिपष्धी रहेका सत्रुधन यादव र चन्देश्वर महतोले फेरी अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।मुखियापट्टी मुसरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव र अक्षय कुमार यादवले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक यादवले जनाएका छन् । त्यसैगरि २ जना उपाध्यक्षका लागि जिवछ यादव, ललित कुमार मण्डल, दिनेश प्रसाद यादव, राम पुकार यादव, राम शंकर पासमान र अब्दुल मनान राईनले उम्मेदवारी दर्ता गराएका छन्
। १ जना सचिवका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।सचिवमा उम्मेदवारी दिनेहरुमा सीताराम यादव, राम एकवाल शर्मा, राम नारायण कापरी, धमेन्द्र कुमार गोइत, उमेश प्रसाद महतो, संजय कुमार यादव र दिपेन्द्र कुमार कापरी रहेका छन् । २ जना उपसचिव पदका लागि राम बिहारी यादव, श्याम कुमार राउत, सीता कुमारी देवी मण्डल, बेचन महतो, शशि चन्द्र यादव र दिनेश महतोको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
१ जना कोषाध्यक्षका लागि ३ जनाले मात्र उम्मेदवारी दिएका छन् ।कोषाध्यक्षमा सुजिता यादव, मो.नजमुद्दिन अंसारी र अशोक कुमार यादवको उम्मेदवारी दर्ता भएको छ । आरक्षित समेत ५० सदस्यका लागि हुने चुनावमा ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालमा उम्मेदवारी दिनेको संख्या कम रहेको बताइन्छ ।निर्वाचन समितिका अनुसार धनुषामा कुल ३ सय ३१ जना मतदाता रहेका छन् ।त्यस मध्ये ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
७ जना पदाधिकारीका लागि २७ जनाको उम्मेदवारी परेको छ ।त्यस मध्ये कोषाध्यक्षमा १ जना महिला सुजिता यादवले मात्र उम्मेदवारी दिएकी छन् ।समानुपातिक र समावेशीको लागि लड्ने जसपा नेपालमा भने त्यसको अभ्यास हुन अझै समय लाग्ने देखिन्छ । नेकपा एमालेमा उम्मेदवारी दर्ता सम्मको प्रकृया शान्तिपूर्ण ढंगले भए पनि उम्मेदवारको नामावली सार्वजनिक गर्नेमा धाँधली गरिएपछि विवाद चर्किएको र कुटाकुट भएको थियो ।आधा दर्जन नेताहरुको टाउको र अन्य भाग फुटेको छ ।
साधारण चोटपटक त धेरैलाई लागेको थियो । त्यसबाट जसपा नेपालका नेताहरु सतर्क देखिएका छन् ।निर्वाचन समितिका संयोजक रामअशिष यादवले जनाए अनुसार नेताहरुबीच सहमति भए बाहेकको अवस्थामा चुनाव पूर्ण निष्पक्ष रुपमा सम्पन्न गराइनेछ । उम्मेदवारी दर्ता, नामावली प्रकाशन, दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रकृया निर्धारित समयमा नै सम्पन्न हुने संयोजक यादवले बताए ।
जिल्ला अधिवेशन उद्घाटनका लागि जनकपुरधाम आएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रवारको बन्द सत्रमा पनि सहभागी भएका थिए । उनीसँगै उपाध्यक्ष लालबाबु राउत लगायतका नेताहरु बन्द सत्रमा सहभागी भएका थिए ।जिल्ला नेतृत्व चयन नभए सम्म अध्यक्ष यादव जनकपुरधाममै रहने बताइएको छ । पछिल्लो पटक भएको जिल्ला अध्यक्षको चुनावमा शान्तिपूर्ण ढंगले मतदान र नतिजा सार्वजनिक भएको थियो ।यस पटक पनि चुनावबाट नै नेतृत्व चयन भए पनि शान्तिपूर्ण रुपमा हुने नेताहरुले दावी गरेका छन् ।