
महोत्तरीको भंगाहा नगरपालिका–९ की एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरिएको आरोपसहित उनकी आमाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएकी छन् ।
जाहेरी अनुसार किशोरीलाई विवाहको प्रलोभन देखाई धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका नइम कवारीले जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । पीडितकी आमा रफिदा खातुनले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै छोरीमाथि करणीको जाहेरी दिएपनि अहिले सम्म कुनै कारवाही नगरिएको बताईन ।
उनले दिएको जाहेरीअनुसार, उनीकी छोरी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । मोबाइलमार्फत संचार हुँदै जाँदा विपक्षी नइम कवारीसँग चिनजान भएको र पछिल्लो समय नियमित सम्पर्क भइरहने गरेको थियो । विपक्षीले विवाहको झूटो आश्वासन दिँदै पीडितलाई २०८१ साल माघ ४ गते दिउँसो २ बजे बाँसघारी क्षेत्रको एकान्त स्थानमा बोलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।
घटनापछि पीडित किशोरीको मानसिक अवस्था बिग्रिएको र उनी निकै आघातमा रहेको पीडितकी आमाले वताएकी छन् ।पीडित पक्षले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम विपक्षीमाथि कानुनी कारबाहीको माग गर्दै हदैसम्मको सजाय र क्षतिपूर्ति समेत माग गरेकी छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटना सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।