रौतहटको कटहरिया नगरपालिका–४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीको मोटरसाईकलसँग ठक्कर खाएर घाइते भएका एक स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको विआर ३००–७९३६ नम्बरको मोटरसाईकल बुधबार दिउँसो पुलको पूर्वपट्टि दुई सय मिटरको दूरीमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका विआर ३००–७९३६ नम्बरको मोटरसाईकल चालक, फतुवा विजयपुर–४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादवको उपचारका क्रममा गण्डक अस्पताल, वीरगञ्जमा राति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ ।
घटनासम्बन्धी कुनै लिखित उजुरी नआएकाले उजुरी परेपछि मात्र थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने प्रहरी प्रवक्ताको भनाइ छ । यसैबीच, आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीबार प्रतिनिधि सभामा घटनाबारे सरकारलाई जानकारी गराउँदै सशस्त्र प्रहरीद्वारा जबरजस्ती दुर्घटना गराइएको आरोप लगाउँदै छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। उनले मधेशमा सशस्त्र प्रहरी कमिसनको लोभमा किसान, व्यापारी र सर्वसाधारणलाई दुःख दिने गरेको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्नुपर्ने माग पनि राखे ।
सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएका छन् । उनले प्रहरीले गरिरहेको अनुसन्धानको निष्कर्षअनुसार आवश्यक कारबाही हुने बताए ।
के हो घटना ?
बुधबार अपराह्न साढे तीन बजे तिर ग ४ प ४०७३ नम्बरको मोटरसाईकलमा भन्सार छलीका किराना सामान बोकेर कटहरिया–४ लालबकैया पुलतर्फ आइरहेको थियो । पुलको पश्चिम किनारमा बसेका सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारका गस्ती टोलीले मोटरसाईकल रोके पनि तस्करले ’तुफान’ कुदाएका थिए ।
सशस्त्र प्रहरी हवलदार सिंहले बा ८४ प ७३८३ नम्बरको मोटरसाईकलमा अर्का जवानसहित तस्करको पछाडि लाग्दा, सामुन्ने बाट आइरहेका विआर ३००– ७९३६ नम्बरको मोटरसाईकल र ग ४प ४०७३ नम्बरको मोटरसाईकल ठोक्किएका थिए। प्रत्यक्षदर्शीका अनुसार तस्कर भने घटनास्थलबाट भाग्न सफल भएका थिए ।
दुर्घटनामा अनुठा यादवको टाउको लगायत शरिरका अन्य भागमा गम्भीर चोट लाग्यो भने पछाडि सवार ४० वर्षीय जिनिस साहलाई सामान्य चोट लागेको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयहरूले सशस्त्र प्रहरीका जवानलाई निर्घात कुटपिट गरेका थिए । साथै ईलाका प्रहरी कार्यालय कटहरियाका गस्ती टोलीमाथि पनि हातपात भएको थियो ।
उत्तेजित भीडले लालबकैया नदीको पुलमार्गसमेत अबरुद्ध गर्दै दोषीमाथि कारबाहीको माग गरे। पछि ईलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओमप्रकाश यादवको कमाण्डमा पुगेको टोलीले अवस्था नियन्त्रणमा लिँदै तीनवटै मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।


