२०८२ बैशाख २७, शनिबार १९:२०

भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्।

शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्।

उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए। मिश्रीले शनिबार अपराह्न ३:३५ बजे पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले भारतीय सेनाका वरिष्ठ अधिकारीलाई टेलिफोन गरेको बताए।

‘दुई जनाबीचको टेलिफोन संवादपछि दुवै पक्षबीच जमिनबाट हुने गोलाबारी, आकाशबाट हुने सैन्य कारबाही र समुद्रबाट हुने आक्रमण रोक्न तयार हुनुभएको छ,’ मिश्रीले भनेका छन्। पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि तत्कालै लागू हुनेगरी भारत र पाकिस्तानबीच ‘युद्धविराम’को सहमति भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा पोस्ट लेख्दै एक अर्काविरूद्ध आक्रमण नगर्न दुवै देश सहमत भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश ‘युद्धविराम’का लागि सहमत भएको भन्दै बधाइ दिएका छन्।

शनिबार बिहान अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग टेलिफोन संवाद गरेका थिए। भारत-पाकिस्तानबीच बुधबारदेखि सुरू भएको आक्रमण-प्रत्याक्रमण लामो द्वन्द्व हुँदै युद्धमा जाने खतरा बढेको थियो।

शुक्रबार रातिदेखि दुई देशले एक-अर्काका सैन्य अड्डा र हवाई क्षेत्रमा लक्ष्य गरेर आक्रमण गर्न थालेका थिए। आणविक हतियार प्राप्त दुई देश युद्धमा जाने खतरा बढेपछि अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो।

Comment


Related News

Latest News

Trending News