
सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर १२ र २२ मा अवस्थित ऐतिहासिक, सांस्कृतिक, पौराणिक तथा धार्मिक महत्व बोकेको सलहेश फुलवारीको संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक मोहन पासवानको अगुवाईमा आइतबार मुख्यमन्त्रीलाई बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख अनुसार उक्त क्षेत्र पासवान समुदायका पूर्वज एवं ईष्टदेवता मानिने लोकनायक सम्राट सलहेशसँग जोडिएको ऐतिहासिक स्थल हो ।
समानता, न्याय, मानवता र सामाजिक समावेशीताको सन्देश फैलाउने समाज सुधारक सलहेशको योगदानलाई स्मरण गर्दै समितिले फुलवारी र त्यससँग जोडिएका सम्पूर्ण स्थलहरूको संरक्षणमा राज्य उदासीन भएको भन्दै समितिले आपत्ति जनाएको छ । त्यस्तै, फुलवारी क्षेत्रभित्र हालै प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयको पहलमा गरिएको अम्बेडकर पार्कको शिलान्यासले समुदायमा आक्रोश सिर्जना गरेको छ ।
समितिले बाबा साहेब डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान व्यक्त गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य भएको जनाउँदै सलहेश फुलवारीजस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको बताएको छ ।
ज्ञापनपत्रमार्फत समितिले प्रदेश सरकारले तत्काल उक्त पार्कको निर्माण स्थल अन्यत्र सार्नुपर्ने, सलहेश फुलवारी क्षेत्रलाई पूर्ण संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, त्यससँग जोडिएका सम्पूर्ण स्थलहरूलाई जोडेर सलहेश सांस्कृतिक सर्किट विकास गर्नुपर्ने, र सलहेशलाई राष्ट्रिय विभूति घोषणासहित युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने माग गरेको छ ।
संयोजक मोहन पासवानले ज्ञापनपत्र बुझाउँदै सलहेश फुलवारी पासवान समुदायको मात्र नभई सम्पूर्ण मधेशको सांस्कृतिक गौरव भएको भन्दै यस क्षेत्रमा कुनैपनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। माग सुनुवाइ नभए सशक्त आन्दोलनमा जानुपर्ने बाध्यता उत्पन्न हुने उनले चेतावनी दिए ।