संघीय लोकतान्त्रिक मोर्चाको पहिलो बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने भएको छ ।
जेठ १ गते लोसपा नेपालको कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल गर्नुको साथै आगामी कार्ययोजनाहरु तय गर्ने बताइएको छ । लोसपा नेपालका महासचिव मनिष मिश्रका अनुसार बैठकले मोर्चाको अगामी कार्यदिशा तथा योजनाहरू तय गर्नेछ ।
संविधान संशोधनको एजेन्डामा दबाब बढाउने उद्देश्यले मधेस केन्द्रित सात दलले चैत २१ गते मोर्चा घोषणा गरेका थिए । त्यसयता मोर्चाको औपचारिक बैठक बसेको छैन । वैशाख २४ गते एउटा अनौपचारिक बैठक बसेर मोर्चाले भारत–पाकिस्तान बिचको द्वन्द्व तथा वैशाख १७ गते रेशम चौधरीलाई गरेको पक्राउ लगायतको विषयमा विज्ञप्ति जारी गरेको थियो ।
जेठ १ गते औपचारिक बैठकबाट एउटा मूल समिति र सचिवालय गठन पनि गर्ने बताइएको छ ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा छन् ।


