२०८२ बैशाख २९, सोमबार ०७:५९

जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी महिला संघ नेपालको प्रथम महाधिवेशनबाट पहिलो अध्यक्षमा निर्मला यादव सर्वसम्मत भएकी छन् । यादव तदर्थ समितिको पनि अध्यक्ष थिइन् ।

जनकपुरधाममा आइतबार चुनावको तयारी भएको र अन्य उम्मेदवारी समेत परेको थियो । तर मतदान प्रक्रियामा नगइ सोझै अध्यक्षमा यादवलाई घोषणा गरिएको बताइएको छ । उनी जसपा नेपालकी कार्यकारिणी समिति सदस्य पनि छिन् । सर्वसम्मतबाट अध्यक्षमा यादवको नाम घोषणा गरिएपछि कार्यक्रम स्थलमा निकै बेर हो– हल्ला पनि भएको थियो । असन्तुष्ट पक्षले मतदान प्रक्रियाबाट नै अध्यक्ष चुनिनु पर्ने अडान लिएका थिए ।

यादव पक्षधरहरुले सबै पदमा सर्वसम्मतिबाट चयन भएको बताइए पनि अबेर रातिसम्म केन्द्रीय समितिको नाम सार्वजनिक भएको छैन । अधिवेशनमा सहभागी प्रतिनिधिहरुले गैरलोकतान्त्रिक प्रक्रियाबाट अध्यक्ष चयन भएको आरोप लगाएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार समाजवादी महिला संघको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका थिए ।

बन्द सत्र सम्पन्न भएपछि आइतबार उम्मेदवारी दर्ता गरिएको थियो । तर मतदान प्रक्रिया अगावै अध्यक्षमा यादव निर्वाचित भएको बताइए पनि अन्य पदाधिकारीहरु बारे घोषणा नहुँदा संघमा विवाद उत्पन्न भएको छ । उच्च स्रोतका अनुसार राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको चाहना अनुसार नै निर्मला यादवको नाम अध्यक्षमा घोषणा गरिएको छ । यादवलाई सप्तरी जिल्लाकी किरण साहले अध्यक्षमा चुनौती दिएकी थिइन् । तर मतदान नभइकनै यादवलाई निर्वाचित घोषणा गरिएको आरोप लगाइएको छ ।

साहले अध्यक्ष पदका लागि सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै मत मागेकी थिइन् । उनले आफ् ना समर्थक र प्रस्तावकको नाम समेत सार्वजनिक गरेकी थिइन् । तर उनले प्रतिस्पर्धा समेत गर्न पाइनन् । त्यसैगरि अध्यक्ष पदको अर्की उम्मेदवार पुनम यादव पनि निराश भएकी छन् । यादव पनि चुनावी प्रचारमा जुटेकी थिइन् । महिला नेतृहरुका अनुसार यादव समाजवादी महिला संघकी संस्थापक र पार्टीमा समेत प्रभावशाली भूमिकामा रहेकीले अब उनी नै सर्वसम्मत अध्यक्ष भएकी छन् ।

मतदानका लागि विवाद चर्किएको थियो । कुर्सी समेत फालिएको एकजना सहभागीले बताइन् । तर माथिको लाइन नै यादव तर्फ रहेकाले सोझै उनलाई अध्यक्ष घोषणा गरिएको उनीहरुले आरोप लगाएका छन् । सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको सन्देश महाधिवेशनले दिन नसकेको आरोप लगाउँदै उनीहरुले भनिन्, ‘सबैलाई विश्वासमा लिएर नेतृत्व घोषणा गरेको भए राम्रो हुने थियो ।’

यसैबीच धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् । शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।

सत्रुधन यादव र पशुपति यादवबीच चलेको कडा टक्करपछि पनि पशुपति यादव ४ मतान्तरले विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका छन ।

त्यसै गरि दुई जना उपाध्यक्षमा शहिनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव विजयी भएका छन् । अर्का उपाध्यक्षमा ललित मण्डल विजयी भएका छन । उनिहरु क्रमशः १८० र १५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राम शंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त गरेका छन ।

त्यसै गरि सचिवमा रामनारायण कापडी विजयी भएका छन । उनले ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी उमेश महतोले ७० मत प्राप्त गरेका छन ।

त्यसै गरि उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी दिनेश महतो ९५ र बेचन महतो ९५ मत प्राप्त गरेको निर्वाचनत समितिले जनाएको छ । त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरि विजयी भएका छन उनका निकटमत प्रतिद्वन्दी अशोक कुमार यादवले १४४ मत प्राप्त गरेका छन ।

यता मुस्लिम सदस्यमा रहमत राइन १८६, आमिन खान १७७ र नइम शेष ११९ मत प्राप्त गरि विजयी भएका छन महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News