
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले नगरपालिकाका उपमेयर रचना माथेमाले आफूमाथि लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका छन् ।
महेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मेयर यादव पालिकालाई सुन्दर बनाउन आफूले विकास निर्माणका कार्यहरुलाई व्यवस्थित तथा पारदर्शी रुपमा गरेको देखेपछि नेपाली कांग्रेसको उक्साहटमा उपमेयर माथेमाले पालिका चलाउन नदिएको दाबी गरे । उनले उपमेयर माथेमाले आफूमाथि विभिन्न आरोप लगाएर पञ्छिन खोजेको आरोपसमेत लगाए ।

उपमेयर रचना माथेमा नेपाली कांगे्रसकी नेतृसमेत रहेकी भन्दै मेयर यादवले कांग्रेसको उक्साहटमा आएर आफूमाथि तथानाम आरोप लगाएर आफ्नो कामकाजबाट पञ्छिन खोजेको दाबी गरे । उपमेयर माथेमा प्रायः काठमाण्डुमै रहने गरेको भन्दै मेयर यादवले नगरपालिकाको कार्यालयमा एकदमै कम आउने गरेको बताए । उपमेयर माथेमा आफ्नो सेवासुविधा लिने गरे पनि जनताप्रतिको कर्तव्य निर्वाह नगरी अरुमाथि आरोप लगाएर पञ्छिनु गलत रहेको मेयर यादवले बताए । उनले न्यायिक समितिमा आफूले एक कर्मचारी पठाए पनि न्याय सम्पादनको काम गर्न अनिच्छुक देखिनु दुःखद रहेको बताए ।
मेयर यादवले भने ‘न्यायिक समितिको उजुरीको चाङ्ग छ, तर समितिको संयोजक उप प्रमुख बस्दैन, कर्मचारी मात्र के गर्छ ? कार्यालय तथा नियमित हुने गरेको बैठकमै नआएर जथाभावी रुपमा बाहिर गएर बोलेर रेडबुक नदिएको भन्नु बेतुकको कुरा रहेको उनले बताए ।
मेयर यादवले राजनीतिक विवादकै कारण ढिलो गरी नगरसभा भएको र रेडबुक छाप्न समय लागेको भएपनि अहिले नगर कार्यपालिकाको बैठकमा आउने सबैले रेडबुक पाइसकेको दाबी गर्दै प्रष्ट पारे । सधैं काठमाण्डु बस्ने अनि तीन÷तीन महिनामा कार्यालयमा आएर तलब, भत्ता र सेवासुविधा बुझ्ने उपमेयरले आफ्नो पदीय जिम्मेवारी अनुसार जनताको काम छोडेर पार्टीका उक्साहटमा पालिकाका राजनीतिक स्टन्ट गर्न खोजेको मेयर यादवको गुनासो गरे । सबैको सहमतिमै नगरसभाबाट चालु आर्थिक वर्षको लागि बजेट ल्याएको र आफुले उपमेयरको बजेट र योजनामा कुनै विभेद नगरेकोले मेयर र उपमेयर बीचमा योजना सम्बन्धि कुनै मतभेद नरहेको प्रस्ट्याए ।
निवर्तमान मेयर योगेन्द्र पँजियारले आफ्नो कार्यकालमा अपारदर्शीता, अनियमितता र अराजकतापूर्वक हैकमवादी शैलीमा पालिकालाई भद्रगोल बनाएको मेयर यादवले आरोप लगाए । उनले आफू निर्वाचित भएपछि पालिकाको कार्यालयलाई व्यवस्थित गरेको, पारदर्शी पूर्वक विकास निर्माणको कामकारबाही थालेको र अनुशासन तथा लोकतान्त्रिक पद्धति अनुसार जनताको हक अधिकारलाई कायम गरेको दाबी समेत गरे ।
आफू निर्वाचित भएर आएदेखिको गरेको विकास निर्माणको जनमुखी कार्य विपक्षी पार्टीलाई अपन भएकाले उप प्रमुखलाई उक्साएर तथानाम गर्न खोजेको उनले बताए । मेयर यादवले आफू आएदेखि स्थानीय, प्रदेश र संघ सरकारको करोडौँको विभिन्न विकासे योजनाहरु क्षीरेश्वरनाथ नगर विकासमा ल्याएर विकास निर्माणको कार्य भइरहेकोले बताए । मेयर यादवले आफूले कोल्ड स्टोर, कृषि, शिक्षा, सडक कालोपत्रे लगायतमा संघ सरकारबाट बजेट ल्याएर विकास निर्माणका कार्य गरिरहेको बताए ।
एक साता अघि उपमेयर माथेमाले कांग्रेसका नेताहरुको सहभागितामा पत्रकार सम्मेलन आयोजना गर्दै मेयर यादवमाथि विभिन्न आरोप लगाउँदै हैकमवादी शैलीमा पालिका चलाउन खोजेको आरोप लगाएकी थिइन् ।