
राष्ट्रिय आविष्कार केन्द्र वीरगञ्ज कृषि औजार कारखानाले नेपालमै पहिलो पटक फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर आविष्कार गरेको जनाएको छ ।
फिस इन्क्युवेटरले अण्डाबाट भुर्रा उत्पादन गर्ने र अक्सिजन एरिएसन मिक्सिङ टावरले पानी र हावालाई आपसमा मिलाउने काम गर्छ । केन्द्र वीरगञ्ज प्रमुख इन्जिनियर रितेश देवले सो मेशिन नेपालमै पहिलो पटक आविष्कार गरिएको दाबी गरे । उनले भने, ‘नेपालमा अहिलेसम्म यी मेशिन आविष्कार भएको थिएन । यहाँ खरिद गर्न पनि पाइँदैन,’ उनले भने, ‘माछा पालक किसानले सोझै भारत वा चीनबाट आयात गर्नुपर्ने अवस्था छ ।’ सो स्वदेशमै सो मेसिन उत्पादन हुन थालेपछि माछा पालक किसानले लाभ लिनसक्ने उनको भनाइ छ ।
केन्द्रले आविष्कार गरेका २ वटै मेसिन लुथरन वल्र्ड रिलिफ नेपाल संस्थाले करिब दुई साता अघि आफ्नो मत्स्य परियोजना कार्यक्रम अन्तर्गत बारा दोदरपाका एक किसानलाई हस्तान्तरण गरिसकेको इन्जिनियर देवले बताए । उनले भने, ‘लुथरनले केन्द्रलाई १६/१६ वटा गरी ३२ वटा यी मेशिन उत्पादनको अर्डर दिएको छ,’ उनले अघि थप्दैँ भने, ‘अन्य मत्स्य पालक किसानले खरिद गर्न चाहे केन्द्रले उत्पादन गरेर बिक्री गर्ने छ ।’ फिस इन्क्युवेटर मेसिनको मूल्य १ लाख १० हजार रुपैयाँ र अक्सिजन एरिएसन मिक्सिङ टावरको मूल्य ४० हजार रुपैयाँ रहेको उनले बताए । लुथरनले आफ्नो परियोजना अन्तर्गत बाराको सिमरामा कार्यालय स्थापना गरी नेपालमा माछा पालक किसानलाई नयाँ प्रविधिसँग परिचित गराउने र ती प्रविधिलाई स्थापित गराउने प्रयास गरिरहेको उनले बताए ।
भारत वा तेश्रो मुलुकबाट सो उपकरण आयात गर्दा लागत बढी हुने, कर बढी लाग्ने र ढुवानी लागत पनि लाग्ने हुँदा किसानलाई स्वदेशमै उत्पादित उपकरण सस्तो र ढुवानी पनि सहज हुने इन्जिनियर देव दाबी गरे । केन्द्रले यी उपकरण स्टेनलिश स्टिल, फलाम, पाइप आदि प्रयोग गरेर उत्पादन गरेको छ । फिस इन्क्युवेटर उपकरणको तौल ५० देखि ५५ किलो र अक्सिजन एरिएसन मिक्सिङ टावरको तौल ३० देखि ३५ किलो रहेको छ ।
सो उपकरण किसानले ट्यांकीमा जडान गरेर वा मोटरले पनि चलाउन सकिने उनको भनाइ छ । केन्द्रले एक दिनमा सो मेशिस दुई वटा उत्पादन गर्न सक्ने क्षमता रहेको जनाइएको छ ।