
जनता समाजवादी पार्टी( जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जिल्ला अधिवेशनहरुको उद्घाटनमा प्रमुख अतिथि रहे पनि उनले रुचाएका नेता अध्यक्षमा जित्न सकिरहेका छैनन् । मधेश प्रदेशमा अध्यक्ष यादवको आशीर्वाद प्राप्त नेताहरु जिल्ला अध्यक्षमा आउन सकेका छैनन् । मधेश प्रदेशमा अध्यक्ष विरुद्ध सोझै नेताहरुले विरोध गरेको नदेखिए पनि आन्तरिक रुपमा उनलाई धक्का दिइरहेका छन् ।
पछिल्लो पटक मधेश प्रदेशको राजधानी रहेको धनुषा जिल्लामा अध्यक्ष यादवलाई जबर्जस्त धक्का लागेको छ । उनले जिल्ला अध्यक्षमा पशुपति यादवलाई रुचाएका थिएनन् । अध्यक्ष यादवले सत्रुधन यादवलाई अध्यक्ष बनाउन चाहेका थिए । तर उनको चाहना विपरीत पशुपति यादव झिनो मतान्तरले भए पनि अध्यक्षमा विजयी भएका छन् । धनुषा जिल्लाको निर्वाचनमा अध्यक्ष उपेन्द्र यादवको चाहना विरुद्ध अधिकांश प्रभावशाली नेताहरुले पशुपति यादवलाई समर्थन गरेका थिए । पशुपति यादव लगातार तेस्रो पटक पनि अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
यस अघि पनि उनले सत्रुधन यादवलाई नै पराजित गरेका थिए । अध्यक्ष निर्वाचित यादवको सम्पर्क नेपाली कांग्रेस धनुषाका केही प्रभावशाली नेताहरुसित पनि छ । उनीहरु गत आम निर्वाचनमा जसपा नेपाल छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मधेश प्रदेशको धनुषा, सर्लाही, रौतहट, बारा र सिरहामा अध्यक्ष उपेन्द्र यादवको इच्छा विपरीतका नेताहरु अध्यक्षमा जितेका छन् । पर्सा जिल्ला अध्यक्ष तटस्थ जस्तै देखिएका छन् । सप्तरी जिल्लामा अधिवेशन हुन बाँकी छ । त्यहाँ अध्यक्ष यादवले आफ्ना अनुकूलका नेताको पक्षमा समर्थन जुटाउने अभ्यासमा लागेका छन् । तर त्यहाँ पनि सहज नरहेको एकजना नेताले बताएका छन् ।
विगतमा जस्तो अध्यक्ष यादवले अब डिक्टेटर बन्न खोजे विद्रोह हुने बलियो सम्भावना रहेको एकजना नेताले बताए । बाहिरी रुपमा अध्यक्ष यादवको विरोधमा भने कोही देखिएका छैनन् । तर उनको चाहना विपरीतका गतिविधिहरु बढिरहेको छ ।
अध्यक्ष यादवलाई ठूलो धक्का मधेश प्रदेशको अधिवेशनमा लाग्ने सम्भावना छ । उनले भनेकै अधारमा सर्वसम्मत ‘रुपमा नेतृत्वको चयन हुने सम्भावना एकदम न्यून छ । अध्यक्ष यादवले विगतमा मधेश प्रदेशको अध्यक्ष पदबाट रेनु यादव, विजय यादव र रामबाबु यादवलाई बर्खास्त गर्दै बालकेश्वर यादवलाई जिम्मा लगाएका छन् । तर गैर राजनीतिक क्षेत्रबाट आएका यादवलाई मधेश प्रदेशका नेताहरु स्वीकार गरिरहेका छैनन् । जसपा नेपालमा अध्यक्ष उपेन्द्र यादवलाई मुख अगाडि सबैले चाकडी गर्छन् । त्यसले संगठनमा पहिरो जाने गरेको नेताहरुको बुझाइ छ ।
अध्यक्ष यादवलाई मधेश प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशनमा ठूलो धक्का लाग्ने सम्भावना छ । पार्टीमा फरक धारणा राख्नेलाई उनले निस्कान सम्म गर्दै आएकाले प्रत्यक्ष रुपमा मुख खोल्ने सहास नेताहरुले गरिरहेका छैनन् । तर भित्र भित्रै उनलाई चुनौती दिने समूहहरु संगठित हुन थालेका छन् । जसपा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका सञ्जय यादव पार्टीामा हराएका छन् । मन्त्री भएको बेला सोझै अध्यक्ष यादव, उनका पुत्रसित सम्पर्कमा रहेका सञ्जय अहिले पार्टी भित्रै ओझेलमा परेका छन् । सर्लाहीमा नै उनका विरोधीहरुलाई अध्यक्ष यादवले बलियो बनाउन थालेका छन् ।
अध्यक्ष यादवले महाधिवेशनको क्रममा पनि आफू अध्यक्ष चयन भएपछि गठन गरेको कार्यकारिणी समिति, पदाधिकारी लगायतमा मनपरी ढंगले गरेको आरोप लागेपछि केहीलाई सन्तुष्ट गर्न पदाधिकारीमा राखेर आश्वासन दिए पनि त्यो वर्ष दिन हुन लाग्दा पनि पुरा भएको छैन । हुन त अझैसम्म निर्वाचन आयोगले महाधिवेशनलाई वैधता प्रदान गरेको छैन । अध्यक्ष यादवले सोमबार मोरंग जिल्ला अधिवेशनको उद्घाटन गर्ने क्रममा जनताले ठूलो त्यागबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको प्रथम जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उनले ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यकता भएको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले मुलुकमा भ्रष्टाचार, कमिशनतन्त्र, विचौलियाको चलखेल नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले पार्टीले संविधान संशोधन गर्ने स्पष्ट धारणाअनुसार मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिए ।
पार्टीका सहअध्यक्ष रकम चेम्जोङले बितेर गएको राजतन्त्र पुनः फर्केर नआउने बताए । पार्टीका महासचिव रेखा यादव, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जयराम यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको उल्लेख गरे । पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव राजेश गुप्तालगायतले लोकतान्त्रिक व्यवस्थाको विकल्प निरंकुश शासन व्यवस्था नहुने धारणा राखे ।