
बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न मेयर किशोरी साह कलवारका सहयोगी पक्राउ परेका छन् । तर मेयर कलवार अहिलेसम्म पक्राउ पर्नसकेका छैनन् ।
मेयरका सहयोगी सोनफी यादवलाई प्रहरीले काठमाण्डुस्थित सिंहदरवार परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ । सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाण्डु आएका थिए ।
प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए । कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकिय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए । घटनामा संलग्न वडा सदस्य गुप्ता फरार भएका छन् ।
बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म मुद्दाको प्रक्रियामा अगाडि नबढेको बताए । सो घटना बारे अनुसन्धान जारी रहेको जनाइएको छ । उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि हुने दबाब, दमन, अत्याचार गर्दा पनि स्थानिय प्रशासन मुकदर्शक बन्ने गरेको प्रत्यक्ष रूपमा उदाहरण बनेको छ । कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको थियो ।
गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोलाएर दुव्र्यवहार गरेका थिए । घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् । नगरपालिका द्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।
यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाई शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दबाब दिँदै आएका थिए । त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहाँसिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिओम जैसवालले बताएका छन् ।
गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए । मेयरसंग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दवाव दिएको थियो ।
मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याइएको छ भने अन्य कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले भने । सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसायनै नरहेको आरोप लगाइन् ।
मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारी लाई आफ्नो घरायसी नोकरको जस्तो व्यबहार गर्ने गरेको बताइन् । नगर कार्यपालिका बोर्डमा रहेका २१ जना मध्ये २० जना आफूसँग भए पनि मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् ।