
मधेश प्रदेशमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरप्रति व्यापक गुनासो उठिरहेका बेला प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालय अनुगमन सुरु गरेका छन्। मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको निरीक्षण गर्दै उनले शिक्षा क्षेत्रमा देखिएको बेथिति तथा विसङ्गतिहरु सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री सिँहले हँसपुर नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडा मा अनुगमनका क्रममा कतिपय विद्यार्थी निजी विद्यालयमा अध्ययनरत रहे पनि तिनको नाम सरकारी विद्यालयमा कायम गरी छात्रवृत्ति र खाजा सुविधा लिइएको तथ्य उजागर गरेका छन्।

सरकारले विद्यार्थी संख्याका आधारमा सुविधा उपलब्ध गराउने हुँदा कागजमा नाम मात्रको नामाङ्कन गराई वास्तविक विद्यार्थीभन्दा संख्या बढी देखाउने प्रवृत्तिले प्रदेशका धेरै सामुदायिक विद्यालयमा समस्या सिर्जना गरेको छ।
मुख्यमन्त्री सिँहले शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पालिकाका पदाधिकारी तथा अभिभावकहरूसँग समस्या समाधानका उपायबारे छलफल पनि गरेका थिए ।
छलफलको क्रममा मुख्यमन्त्री सिंहले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैले आफ्नो भूमिका इमान्दार रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए । “विद्यार्थीलाई नियमित होमवर्क दिनु अत्यावश्यक छ, अनि शिक्षकले पनि आफैंले पढाउने विषयमा तयारीसहित कक्षा सञ्चालन गर्नुपर्छ,” मुख्यमन्त्री सिंहले बताए।
मुख्यमन्त्री सिंहले विद्यालयका भौतिक संरचना राम्रो भए पनि शिक्षाको गुणस्तरमा गिरावट आएकोप्रति चिन्ता व्यक्त गर्दै भने, “पहिले भवन थिएन तर पढाइ राम्रो हुन्थ्यो, अहिले ठूला भवन छन् तर स्तर घटेको छ, यसमा सोच्नुपर्ने बेला आएको छ।”
शिक्षकहरू आफैंले यही विद्यालयमा पढेर यहाँ शिक्षक बनेको भए, त्यो विद्यालयलाई उत्कृष्ट बनाउनेतर्फ इमान्दार बन्नुपर्ने पनि उनले स्पष्ट पारे ।
मुख्यमन्त्री सिंहले शिक्षा क्षेत्रको सुधारका लागि अनुगमन प्रक्रिया तीव्र बनाइएको जानकारी गराउँदै सुधार नभए अनुदान कटौती गर्नुपर्ने बाध्यता आउन सक्ने चेतावनी पनि दिए ।
यसै क्रममा उनले अभिभावकहरूको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै भने, “शिक्षक र विद्यालयले के कस्तो शिक्षा दिइरहेका छन् भन्ने बारेमा अभिभावकले खोजखबर गर्न आवश्यक छ ।”
शिक्षाविद् गुरु सुवेदी ले विद्यालयले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापन सूचना प्रणालीमा राखी सरकारबाट छात्रवृत्ति, खाजा लगायत ६–७ वटा शीर्षकमा रकम निकासा गर्नु सरासर भ्रष्टाचार भएको टिप्पणी गरे। उनले यस्तो कार्यमा संलग्न शिक्षक तथा कर्मचारीलाई भ्रष्टाचार मुद्दा लगाएर कारबाही गर्नुपर्ने मागसमेत राखे ।
मुख्यमन्त्री सिँहले नक्कली नामाङ्कनमार्फत सरकारी स्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै अनुगमनमा सहभागी प्रदेश शिक्षा निर्देशक महेन्द्र महतो लाई यस विषयमा सम्बन्धित निकायमा पत्राचार गर्न निर्देशन दिएका छन्।
यसै क्रममा उनले हँसपुर–८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालय को समेत निरीक्षण गरे। सो विद्यालयमा अत्यधिक विद्यार्थी चाप रहेको भए पनि शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै उनले तत्काल पहल गर्न नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए।
उपप्रमुख मण्डलले सो विद्यालयमा शौचालय निर्माणका लागि आवश्यक रकम निकासा भइसकेको र चालु आर्थिक वर्षमै निर्माण सम्पन्न हुने जानकारी दिइन्।
उल्लेखनीय छ, मुख्यमन्त्रीद्वारा अनुगमन सुरु गर्नु एक महिना अघिमात्र प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले मधेश प्रदेशका १३६ वटै पालिकामा पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणाली सुधारका लागि सल्लाह प्रदान गरेको थियो।
मुख्यमन्त्री सिंह यसअघि अस्पताल र होटलहरूको पनि अनुगमन गरिसकेका छन्। अबको प्राथमिकता भनेको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु रहेको उनको भनाइ छ ।