
जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत तथा हाल कार्यालय प्रमुखसमेत रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मीसहित पाँच जना तत्कालीन कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दायर गरिएको आरोपपत्रमा अभियुक्तहरूले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन भएको बचत रकम कुनै आधिकारिक अभिलेख नराखी अपचलन गरेको उल्लेख गरिएको छ। कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएकामा, उक्त अवधिभर बैंकको रकम कार्यालयको नगदी रजिस्टरमा प्रविष्टि नगरी, लेजर बुक र पासबुकमा मात्र विवरण देखाई आफूखुसी रुपमा रकमको दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट खुलेको छ।

विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख भएअनुसार, कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचतकर्ताबाट संकलित रकम आपसी बाँडफाँड गरी, रकमको साँवा-ब्याजसहित पाँच करोड पैँतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा दुरुपयोग गरेको देखिएको छ।
यसैअनुसार, तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहमाथि पनि आरोप लगाइएको छ। उनीहरूले कार्यसम्पादनको क्रममा आवश्यक लेखाजोखा नगरी, नगदी रजिस्टर तथा केन्द्रीय कार्यालयमा विवरण नपठाई, रकम दाखिला भए नभएको छानबिन नगरी अपचलनमा संलग्न रहेको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ।
दफा १७ अनुसार सबै आरोपितहरूविरुद्ध बिगो कायम गरी सोही रकम बराबर कैद र जरिवानाको मागदाबी गरिएको छ।